प्रदेश १ मा दुग्धजन्य वस्तु उत्पादन र प्याकेजिङमा सहज फण्डले अनुदान दिने

विराटनगर । प्रदेश १ मा दुग्धजन्य उत्पादन र बजारीकरणका लागि सहज च्यालेन्ज फण्डले अनुदान दिने भएको छ । परम्परागत रुपमा भन्दा फरक शैलीका नयाँ योजनालाई फण्डले पाँच लाख देखि ५० लाख रुपैयाँसम्म अनुदान दिने भएको हो ।

स्वीस सरकार विकास सहयोग कार्यक्रम अन्तरगत रहेको सहज च्यालेन्ज फण्डले दोस्रो चरणमा दुग्धजन्य वस्तुको उत्पादन र बजारीकरणका नयाँ योजना छनोट गरी अनुदान दिने भएको हो ।

अनुदान प्रकृयामा सहभागिताका लागि फण्डले आवेदनका लागि आह्वान गरेको छ । दुग्धजन्य वस्तु उत्पादन र बजारीकरणका नविनतम योजना भएकाहरुले साउन ६ गतेसम्म आवेदन दिन सक्ने कार्यक्रम व्यवस्थापक सुभेच्छा श्रेष्ठले जानकारी दिइन् । परेका आवेदन मध्येबाट उत्कृष्टलाई कार्यक्रममा समावेश गर्ने उनले बताइन् ।

सहज च्यालेन्ज फण्डले डेरी, अलैंची, तरकारी र मकै बालीको प्रबर्द्धनको क्षेत्रमा काम गर्दै आएको छ ।

दोस्रो चरणको कार्यक्रममा दुधजन्य उत्पादन र प्याकेजिङका लागि साना तथा मझौला उद्योगलाई प्राथमिकता दिइएको परियोजनाको बजेट २ करोड रुपैयाँ छ ।

आइडिया नेपालका अध्यक्ष छिरिङ लामाले वार्षिक अर्बौ रुपैयाँ बराबरको दूध र दुग्धजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्नका स्वदेशमै नयाँ सोचसहित उत्पादनलाई वृद्धि गर्नुपर्ने बताए ।

आवेदन खुला गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले दुध उत्पादनमा प्रदेश १ अगाडि रहेको बताए ।

९,असार.२०७९,बिहीबार १७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्