पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ। काठमाडौं र पोखराका चिकित्सकहरूको टोलीले एक ५० वर्षीय महिलामा मिर्गौलाको प्रत्यारोपण सफल भएको हो ।

कास्कीकी ती ५० वर्षीय महिला करिब ५ मिर्गौलाको बिरामी थिइन् र उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै डायलासिस गरिरहेको निर्देशक भरत खत्रीले जानकारी दिए ।

‘अघिल्लो सालको असारदेखि मिर्गौला प्रत्यारोपणको तयारी थालेका थियौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले सहयोग गर्दै आएको थियो । अन्नत: अथक प्रयासपछि पोखरामै पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भयौं,’ निर्देशक खत्रीले अनलाइनखबरसँग भने ।

प्रतिष्ठानमा दैनिक ३० जनाभन्दा बढीले डायलासिस गराउँदै आएका छन् । मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यताबाट अब गण्डकी क्षेत्रका नागरिक मुक्त हुने निर्देशक खत्रीको विश्वास छ । अब पोखरामा नियमित मिर्गौला प्रत्यारोपण गरउने खत्रीले जानकारी दिए ।

‘आज एउटा ऐतिहासिक दिन बनेको छ । अब यस क्षेत्रका नागरिकका लागि विशिष्ठ चिकित्सा सेवा थपिएको छ,’ खत्रीले भने, ‘प्रत्यारोपण सफल पार्न चिकित्सकहरू धन्यवादका पात्र छन् ।’

भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो । ५ घन्टा लगाएर प्रत्यारोपण सफल भएको र बिरामीलाई कम्तिमा ५ दिन अस्पतालमै राखेर उपचार गरिने निर्देशक खत्रीले जानकारी दिए ।

अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा अप्रेसन थियटर बनाइएको छ र त्यही भवनमा सफल मिर्गौला प्रत्यारोपण गरिएको हो ।

९,असार.२०७९,बिहीबार १८:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्