काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ ।

त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै भनेको छ, ‘पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔं ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।

१०,असार.२०७९,शुक्रबार ०७:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्