आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ ।

आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो ।

उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार मृतक पुरुषको घर झापाको दमक नगरपालिका–१ मा पर्छ ।

घोप्टो परेको अवस्थामा मृत भेटिएको र मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ । पोस्टमार्टमका लागि शव उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

१२,असार.२०७९,आईतवार १२:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्