काम गर्ने क्रममा बोल्न नजानेको भए नियत नठान्नु : प्रेम आले

काठमाडौं । पर्यटन मन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले आफू जनजातिको छोरो भएकाले सिधा कुरा गर्ने बताएका छन् । काम गर्ने क्रममा बोल्न नजानेको भए त्यसलाई गलत रूपमा नलिन उनले आग्रह गरे ।

आज मन्त्रालयमा बिदाइका क्रममा आयोजित पत्रकार सम्मेलनमा आलेले भने, ‘मैले कहिले पनि दुई थरी कुरा गरेको छैन । जहिले पनि एउटै कुरा गरेँ । यदि मैले बोल्न नजानेको भए मेरो नियत थियो भन्ने नठान्नुहोला । मबाट केही त्रुटि भएको भए त्यसलाई रियलाइज गर्ने नै छु ।’

आज संसदमा एक सांसदले आलेमाथि उनले हालै एक कर्मचारीलाई तुच्छ गाली गरेको बारे प्रश्न गरेकी थिइन् । उक्त प्रश्नमा आलेले कुनै जवाफ दिएका थिएनन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा आलेले आज त्यस्तो प्रश्न सोध्नै नमिल्ने तर्क दिए ।

‘आज यो विषय कार्यसूचीमा नै थिएन । यो घटना भएको १२/१५ दिन भइसक्यो । आजका दिनसम्म माननीय सांसदले किन कानमा तेल हालेर बस्नु भयो ? पहिल्यै सोधेको भए जवाफ दिन तयार थिएँ,’ आलेले भने ।

उनले यस घटनाबारे सचिवालयले प्रस्टीकरण दिइसकेको भन्दै थप बोलेनन् ।

१२,असार.२०७९,आईतवार १८:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्