एकल पुरुषलाई मासिक भत्ता दिँदै लुम्बिनीका अधिकांश पालिका

रुपन्देही । लुम्बिनीका केही पालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने निर्णय गरेका छन् । आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई मासिक भत्ता दिनेगरी ती पालिकाले नीति तथा कार्यक्रम र बजेटमा समेटेका हुन् । रोल्पामा त एक पालिकाको वडाले नै निर्णय गरेको छ ।

पाल्पाको तानसेन नगरपालिकाले ६० वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय सार्वजनिक गरेपछि अधिकांश पालिकाले यसलाई पछ्याएका छन् । पाल्पाका पत्रकार माधव अर्यालले तानसेन नगरपालिकाले सबैभन्दा पहिले यो विषय समेटेपछि अरुले पनि निर्णय गर्न थालेको बताए ।

अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चालु आर्थिक वर्षमा नै यसलाई कार्यान्वयनमा ल्याएको छ । उपमेयर गीता भाटले चालु आर्थिक वर्षमै त्यसलाई व्यवस्था गरिएकाले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी नयाँ बजेटमा राखिएको बताइन् ।

प्रदेशका सबै जिल्ला र पालिकामा भने यो व्यवस्था छैन । उसो त यो सुविधा दिने पालिकाहरूले उमेर समूह पनि एउटै राखेका छैनन् ।

प्युठानको गौमुखी गाउँपालिकाले ५० वर्षमाथिका एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाको ११ औँ गाउँसभामा अध्यक्ष विष्णु गिरीले पेस गरेको नीति, कार्यक्रम तथा बजेटमा सो कुरा उल्लेख गरिएको हो ।

पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँ सभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने बताएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालका अनुसार साउन १ देखि नै भत्ता दिने गरी कार्यविधि निर्माण गरिएकाले मासिक एक हजार वितरण गरिनेछ ।

गुल्मीको इस्मा गाउँपालिकाले ५५ बर्ष माथिका एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिका प्रमुख भगतसिंह खड्काले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा यसलाई समेटेर बजेट बनाएको बताएका छन् । यसैगरी कलेजमा उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार कुमाल जातिका विद्यार्थीलाई छात्रवृति दिने, सबै विद्यालयमा असल संस्कार शिक्षा सुरु गरिने, गुरुकुल शिक्षाको व्यवस्था, स्वास्थ्यकर्मीसँग जनता कार्यक्रम संचालन, दलित तथा कुमाल जातिका बुहारीलाई उच्च शिक्षा अध्ययन गराउने परिवारलाई सम्मान, ५५ बर्ष माथिका एकल पुरुषलाई भत्ता, जाँड रक्सी नखाने दलित र जनजाति परिवारका छोराछोरीलाई निःशुल्क शैक्षिक सामग्री लगायतका योजना समेटिएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका- ४ ले एकल पुरुषलाई यसै आर्थिक वर्षदेखि ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिँदै आएको छ । पश्चिमनवलपरासी, दाङ, रुपन्देहीलगायतका जिल्लाका कुनै पनि पालिकाले एकल पुरुषको भत्ताको निर्णय भने सार्वजनिक गरेका छैनन् ।

अधिवक्ता यमलाल खनालले स्थानीय सरकारले यसरी सुविधा दिनसक्ने अधिकार भएपनि संघीय तथा प्रदेशको कानुनमा बाझिन नहुने बताउँछन् ।

‘पालिकाले आफ्नो क्षेत्रका नागरिकलाई कार्यविधि बनाएर सुविधा थप गर्नसक्छ तर त्यो माथिका कानूनसँग बाझिनुहुँदैन भनिएको छ, प्रचारका लागि यो कतै गर्ने कतै नगर्ने तथा उमेर पनि फरक फरक गर्ने गरिएको छ यो राम्रो सन्देश होइन’- उनले भने ।

गाउँपालिका महासंघ लुम्बिनीका अध्यक्ष मधुकृष्ण पन्थले स्थानीय सरकारले आन्तरिक स्रोतबाट आफ्नो पालिकाभित्र रहेकालाई सुविधा दिनसक्ने तर संघ तथा प्रदेशको कानूनसँग बाझिने कानुन बनाउन नपाइने बताए ।

१४,असार.२०७९,मंगलवार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्