विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिता सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण र प्रकाशन सम्बन्धी आचारसंहिता देखिने गरी लागू हुनुपर्ने बताएका छन् ।

विज्ञानपन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्री कार्कीले भने, ‘अब आजकै दिनदेखि यसलाई लागु गर्नु पर्छ । आचारसंहिता लागु गदा केही समस्या आयो भने त्यो समस्या म समाधान गर्न तयार छु ।’

विज्ञानपन बोर्डका अध्यक्ष लक्ष्मण हुमगाईंले सबैले सहयोग गरेर नै आज विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक भएको बताए ।

उनले भने, ‘कानुन भएको विषयलाई पनि हामीले आचारसंहितामा समेटेका छौँ । हाम्रो विज्ञापन नीति विश्व विज्ञापन बजारमा भन्दा धेरै फरक रहेछ । फरक विषयलाई पनि आचारसंहितामा राखेका छौँ । लामो समयको अध्ययन र छलफलबाट नै यो आचारसंहिता आएको हो । यसभन्दा अघि विज्ञापनमा पनि विकृति र विसङ्गति रहेछ । अब त्यो हट्ने छ । अब विज्ञापन बजारमा पारदर्शिता हुन्छ ।’

विज्ञापनले कसैको संस्कृति, संस्कार र परम्परा माथि प्रहार गर्न नहुने समेत उनले बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक कार्यक्रममा बोल्दै लागु गर्न काउन्सिलको सहयोग रहने बताए ।

उनले भने, ‘आचारसंहिता लागु गर्न केही असजिलो भयो भने काउन्सिलको तर्फबाट सहयोग रहने छ । आचारसंहिताले विज्ञापन बजार र मिडिया दुबैलाई फाइदा पुग्ने छ ।’

कार्यक्रममा पत्रकार महासघंका अध्यक्ष, सञ्चारीका समूहका प्रतिनिधि र सञ्चार मन्त्रालयका सचिवको उपस्थिति रहको थियो ।

१९,असार.२०७९,आईतवार १४:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्