
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी प्रदेश तथा संघको निर्वाचनमा गठबन्धनका लागि समान विचारधारा भएका दल र समूहसँग वार्ता थाल्ने भएको छ ।
केन्द्रीय सचिवालय समितिको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा प्रवक्ताद्धय सुरेश आचार्य र विक्रम बम तथा सह महामन्त्री प्राध्यापक नरप्रसाद थापा सम्मिलितलाई वार्ता सुरु गर्न निर्देशन दिने निर्णय गरेको छ ।
यस्तै निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरूमा गाउँ तथा नगरपालिकाहरूको वडा गठन, पुनर्गठनका लागि जिम्मेवारी तोकेर स्वयंसेवी प्रतिनिधि खटाउने पनि निर्णय गरेको छ ।
यस्तै पार्टीको विचार तथा सिद्धान्तलाई जनस्तरमा व्यापक बनाउन वर्तमानका चुनौती र विकल्प विषयमा महानगर तथा उपमहानगरपालिकास्तरमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा र समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला साउन महिनाभित्र सम्पन्न गर्ने निर्णय पनि भएको राप्रपा नेपालले जनाएको छ।
हिन्दूराष्ट्रबारे जनचेतनाको अभिवृद्धि गर्न प्राज्ञिक एवम् धार्मिक क्षेत्रका व्यक्तिहरूको सहभागितामा असार २६ र २७ गते राष्ट्रिय सनातन धर्म महासंघको आयोजनामा हुन लागेको दुई दिने राष्ट्रिय सनातन धर्म संस्कृति सम्मेलनलाई राप्रपा नेपालले पूर्ण सहयोग गर्ने पनि भएको छ।
प्रतिक्रिया दिनुहोस्