
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।
‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
जवाफमा प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने बताएकाे उनले जानकारी दिए ।
आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ । यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकाे छ ।
प्रतिक्रिया दिनुहोस्