
सुर्खेत । असार १२ देखि स्थगित हुँदै आएको कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्ने विषयमा आज सर्वदलीय बैठक बस्दैछ ।
प्रदेशसभाको गतिरोध अन्त्यका लागि बिहान ११ बजे सभामुख राजबहादुर शाहीले बैठक बोलाएका छन् । मुख्यमन्त्री रोजगार कार्यक्रम, ६ जना रिक्त रहेका प्रत्यक्ष निर्वाचित सांसदहरुको क्षेत्रमा जाने पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २४ करोड बजेट, १५ लाखभन्दा मुनिका योजनामा बजेट दिइएको र सात बुँदेप्रति सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ ।
आफूहरूको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने एमालेको अडान छ । बजेट निर्माण प्रक्रियाप्रति मुख्यमन्त्रीसँग सत्तारुढ दलकै सांसद असन्तुष्ट छन् ।
‘आजको बैठकमा सहमति हुन्छ र हुनुपर्छ ’, सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भने, ‘हामी अध्यादेशबाट बजेट ल्याउने पक्षमा छैनौं । प्रमुख प्रतिपक्षीले उठाएका जायज मागहरूको सम्बोधन गर्न सरकार आवश्यक गृहकार्यमा छ ।’
प्रतिक्रिया दिनुहोस्