
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारीसाधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान सञ्चालन गरेको छ ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।
नेपालको कानून विपरीत महिला, बालबालिका, सिमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख, रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रुपमा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।
त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसुचित गरेको छ ।
ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्