फुटपाथ ब्यापारलाई निरुत्साहित गर्ने गृह मन्त्रालयको निर्णय, सार्वजनिक सवारीका यात्रुको विमा गरिनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले फुटपाथ ब्यापारलाई निरुत्साहित गर्ने निर्णय गरेको छ।

ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न तथा सफा, सुरक्षित र सभ्य यातायत क्षेत्र निर्माणका लागि भन्दै गृह सचिव टेकनारायण पाण्डेले विभिन्न निर्णय गर्दै त्यसको कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकायलाई पत्राचार गरेका छन्।

सफाईतर्फ विधुतीय सवारी साधानलाई प्रोत्साहन गर्नुपर्ने, सवारी साधनबाट सिर्जित फोहोरमैलाको समयमै व्यवस्थापन गर्नुपर्ने, दैनिक सडकको सरसफाई गर्ने, यान्त्रिक कुचोको माध्यमबाट सफा गरी सडकबाट धुलो नउड्ने अवस्था सिर्जना गर्ने, शहर भित्रिने मुख्य नाकामा वासिङ सेन्टरको स्थापना गरी सवारी साधनहरुलाई सफा बनाई शहरभित्र पस्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

यस्तै भेहिकल फिटनेश सेन्टरको स्थापना गर्ने,प्रदूषण फैलाउने फैलाउने, पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने, सवारी साधनभित्र कुहिने र नकुहिने फोहोरका लागि फरक फरक डस्टबिन राख्‍नुपर्ने र उक्त फोहोरको उचित स्थानमा विसर्जन गर्नुपर्ने, यात्रुका लागि सवारी साधनहरुमा बमन थैलीको व्यवस्था गर्नुपर्ने,गाडीमा अनावश्यक लेखन तथा विज्ञापन राख्‍न नहुने पनि निर्णय भएको छ।

सुरक्षिततर्फ सार्वजनिक यातायातमा सिट क्षमताभन्दा यात्रु राख्न रोक लगाउने, राखेको पाइएमा प्रहरी मार्फत कारवाही प्रक्रिया अघि बढाउने, सार्वजनिक यातायात तथा सरकारी सवारी साधनमा जीपिएस जडान गर्नुपर्ने, साइकलको लागि छुट्टै लेनको व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक यातायातालाई भरपर्दो बनाई निजी सवारी साधन राख्‍ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै नयाँ शहर विकास गर्दा पार्किङ क्षेत्रको पहिले नै पहिचान गर्नुपर्ने, सोही स्थानमा पार्किङ्ग गर्ने प्रबन्ध मिलाउने, अन्यत्र पार्किङ गरेमा कारवाही गर्ने व्यवस्था मिलाउने, सडक छेउमा निर्माण सामग्री थुपार्ने, संरचना निर्माण गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने, त्यस्ता सामाग्री राखेको पाइएमा यथाशीघ्र हटाउन लगाउने र नहटाइएमा सामाग्री हटाई सोको असुल उपर सामाग्री धनीबाट हुने व्यवस्था मिलाउने पनि निर्णय गरिएको छ।

सडक रुट, सडकको अवस्था, जनघनत्व, बस्ती संरचनालाई अध्ययन गरे मात्र रुट निर्धारण तथा रुट परमिट जारी गर्नुपर्ने, वैकल्पिक रुटको प्रबन्ध गर्ने तथा मुख्य मुख्य चोकहरुमा सिसिटिभी क्यामेराको व्यवस्था गर्ने, निगरानी बढाउने, हाल भएका सिसिटिभी क्यामेराहरु मर्मत गर्ने, सिसिटिभी क्यामेराको स्टोरेज समयावधी अन्तराष्ट्रिय स्तरको बनाउनुपर्ने निर्णय पनि गृह मन्त्रालयले गरेको छ। सडकको अवस्था हेरी स्पीडको अधिकतम सीमा कायम गर्ने, अत्यधिक गति नियन्त्रणका लागि स्पिड गनको व्यवस्था गर्ने, सीमाभन्दा भन्दाबढी स्पीड भए कारवाही गर्ने व्यवस्था गर्न पनि निर्णय भएको छ।

उपत्यका जस्तो सवारी चाप भएको स्थानमा साना सवारी जस्तै कार, मोटरसाइकल, टेम्पो, माइक्रोलगायतको सट्टामा ठुला सार्वजनिक सवारीलाई प्रोत्साहन गर्नुपर्ने पनि निर्णयमा भनिएको छ।

सभ्यतर्फ पर्याप्त फुटपाथको व्यवस्था गर्ने र फुटपाथमा व्यापार गर्ने कार्य निरुत्साहित गर्नुपर्ने भनिएको छ। सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गर्ने घटना दिनानुदिन बढिरहेको हुँदा हाल कायम रहेको सजाय र जरिवानालाई वृद्धि गर्नुपर्ने पनि निर्णयमा भनिएको छ।

साथै अभिमुखीकरण कक्षा सञ्चालन गर्नुपर्ने, सवारी सधानमा यात्रा गर्ने यात्रुहरुको विमाको व्यवस्था गर्नुपर्ने, जथाभावी हर्न बजाउन नपाइने नियम लागू गर्नुपर्ने, जथाभावी हर्न बजाउनेलाई समेत कारवाहीको दायरामा ल्याउने, सवारी साधनको स्वरुप परिवर्तन गर्नेलाई कारवाहीको प्रभावकारिता बढाउने, चेतावनी दिने, निश्चित संख्यामा समेत चेतावनी पाएर पनि नसुध्रिनेलाई सवारी दर्ता खारेज गर्नुपर्ने पनि निर्णयहरु भएका छन्।

२३,असार.२०७९,बिहीबार १८:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्