सुदूरपश्चिममा प्रदेशसभा बहिष्कार गरेका प्रतिपक्षी दलसँग मुख्यमन्त्री छलफल गर्दै

धनगढी । सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् ।

नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले मुख्ययमन्त्रीले छलफलका लागि बोलाएको बताउँदै विपक्षी दलको संयुक्त बैठक गरेका निर्णयका आधारमा तयार पारिएको १४ बुँदे माग पत्र बुझाइने बताए ।

एमालेका तर्फबाट दलका नेता प्रकाश शाह, प्रमुख सचेतक भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाँदैछन् भने लोसपाका कृष्ण चौधरी पनि छलफलमा सहभागी हुनेछन् । जसपाकी मालमती राना भने काम विशेषले धनगढी बाहिर छिन् ।

प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै प्रतिपक्षी दलले सोमबार र मंगलबार प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । प्रतिपक्षी दल बैठकमा सहभागी नभएपछि जसरी पनि प्रदेशसभाबाट बजेट पारित गर्ने रणनीतिमा रहेको सरकार दबाबमा परेको छ ।

बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रुपमा उठेको छ । अहिले पनि सत्तारुढ दलका प्रदेशसभा सदस्यहरु संशोधनविना बजेट पास गर्न नसकिने अडानमा छन् ।

२९,असार.२०७९,बुधबार ०८:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्