श्रीलंका संकटः राष्ट्रपति निवास र राष्ट्रिय टेलिभिजनपछि प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको राजीनामा माग गर्दै उग्र प्रदर्शनमा उत्रिएका श्रीलंकाका नागरिकहरुले हाल प्रधानमन्त्रीको कार्यालयमा पनि कब्जा जमाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार हालैमात्र प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय बाहिरको बार भत्काउँदै निवासभित्र प्रवेश गरेका हुन् । राष्ट्रपति गोटाबाया देश छोडेर भागेसँगै आज श्रीलंकामा उग्र प्रदर्शन भइरहेको छ ।

हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले बिहानैदेखि प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरिरहेका थिए ।

यसअघि प्रदर्शनकारीहरुले श्रीलंका सरकारद्वारा सञ्चालित राष्ट्रिय टेलिभिजनको कार्यालयमा पनि कब्जा जमाएका थिए ।

गत शनिबारदेखि राष्ट्रपतिको निवास पनि प्रदर्शनकारीको कब्जामा छ । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राष्ट्रपति निवास नछोड्ने घोषणासमेत गरेका छन् ।

२९,असार.२०७९,बुधबार १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्