
गोरखा । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएको बताए ।
‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन् । तर, हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’
‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सीके राउत र विप्लव माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दाखेरि हामी तुलनात्मक रूपमा नेकपा एमालेसँग नजिक भएको महसुस गर्छौँ, उनले भने ।
राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रूपमा स्थापना गराउने अभियानमा आफूहरू लागेको थापाले बताए । ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन विस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउँछौँ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्