कमल थापासँग मिल्न आतुर दिलनाथ गिरी र श्याम तिमल्सिनालाई राप्रपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हितविरुद्धका क्रियाकलापमा सक्रिय रहेको भन्दै दुई नेतालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता तथा कार्यसम्पादन समितिका सदस्य ज्ञानेन्द्र शाहीका अनुसार नेताहरु दिलनाथ गिरी र श्याम तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएमा उनीहरुविरुद्ध फौजदारी मुद्दा नै दर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘उहाँहरु पार्टीको कुनै पनि कमिटीमा हुनुहुन्न, तर राप्रपाको तर्फबाट वार्ता समिति बनाएको भन्दै भ्रम फैलाउने काम गर्नुभयो । यो फौजदारी अपराध भएको वैठकले ठहर गरेको छ,’ शाहीले भने ।

पूर्वमन्त्री गिरी अहिले राप्रपाको साधारण सदस्यका हैसियतमा मात्र छन् । उनले हालै होटल एल्लो प्यागोडामा आफू निकट नेता–कार्यकर्ताको भेला बोलाएका थिए ।

उक्त भेलाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै कडा कदम चाल्ने निर्णय लिएको थियो । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा सबैलाई समेटेर लैजान नसकेको र आफूखुशी निर्णयहरु लिएको यो समूहको आरोप छ ।

यो समुहका केही नेताहरु कमल थापाको राप्रपा नेपालमा प्रवेश गर्ने मनस्थितिमा छन् । भेलाले राप्रपा नेपालसँग वार्ता गर्ने भन्दै वार्ता समिति समेत बनाएको थियो । पार्टीको कुनै जिम्मेवारीमा नरहेका व्यक्तिले अनाधिकृतरुपमा वार्ता समिति बनाएको भन्दै प्रचार गरेपछि स्पष्टीकरण सोधिएको राप्रपाले जनाएको छ ।

यता वार्ता समितिमा नाम राखिएका व्यक्तिहरुले नै अनभिज्ञता प्रकट गरेका छन् । समितिमा नाम समावेश गरिएका राजाराम श्रेष्ठले मिडियामा पढेर थाहा पाएको बताए ।

‘म कुनै असन्तुष्ट समितिमा छैन र त्यस्तो भेलामा गएको पनि छैन,’ उनले नेपाल प्रेससँग भने, ‘यसो चियागफमा भएको कुराकानीलाई असन्तुष्टको भेला भनेर प्रचार गरिएको हो भने त्यसमा मेरो सहमति हुँदैन ।’

उनले पार्टीप्रति आफ्नो ठूलो असन्तुष्टि केही नरहेको बताए ।

‘सानातिना कुराहरु त भइ नै हाल्छन्, तर त्यस्तो ठूलो इस्यू केही पनि छैन,’ उनले भने, ‘मेरो नाम किन आयो अचम्ममा परेको छु ।’

वार्ता समितिमा राखिएका अर्का नेता दमन बस्नेतले पनि नेतृत्वलाई आफू त्यसमा सहभागी नरहेको जानकारी गराएको प्रवक्ता शाहीले जानकारी दिए ।

यता गिरी भने राप्रपामा कुनै जिम्मेवारी नपाएपछि केही नेता लिएर राप्रपा नेपालमा जाने तयारी गरिरहेका छन् । उनीहरुले पशुपतिशम्शेर राणा दिल्लीबाट फर्किएपछि निर्णाय

क कदम चाल्ने अध्यक्ष लिङ्देनलाई बताएका छन् । गिरीसहित दिलविकास भण्डारी र दमन बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।

२९,असार.२०७९,बुधबार १८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्