काठमाडौं महानगरमा प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ ।

महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो ।

कांग्रेसबाट विजयी भएका मानन्धर महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत हुन् ।

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो ।

बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए ।

२,श्रावण.२०७९,सोमबार ०९:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्