सरिता तिवारीको स्पष्टीकरण- लेखपढ गर्दा दिक्क लागेका बेला गीत गाएर ‘पीडक’ लाई पठाउथेँ

काठमाडौं । सहकर्मी लेखकमाथि यौन दुर्व्यवहार आरोप लगाएर भाइरल बनेकी लेखिका सरिता तिवारीले आफूमाथि उठेका प्रश्नहरूबारे आज कान्तिपुरमा लामो स्पष्टीकरण छपाएकी छन् । उनले बाल्यावस्थामा नजिकको आफन्तबाट भागेको ‘यौन हिंसा’ को अर्को घटना पनि उजागर गरेकी छन् ।

सरिताले कान्तिपुरमा आफ्नो नियमित स्तम्भ ‘समवेत’ मा निजी स्पष्टीकरण छपाएकी हुन् । क्लीस्ट भाषामा लेखिएको स्पष्टीकरणले उनीमाथि उठेका मुख्य प्रश्नहरूलाई भने अनुत्तरित नै छोडेको छ । पहिलेजस्तै तथ्यभन्दा भावुकतामा टेकेर उनले बयान दिएकी छन् । यसपाली उनले कथित पिडक वा यस घटनामा जोडिएका कसैको पनि नाम भने उल्लेख गरेकी छैनन् ।

सरिता लेख्छिन्, ‘विविध कारणले समयमै व्यक्त गर्न र न्यायिक प्रक्रियामा लैजान नसकेका कार्यस्थल वा सामाजिक संस्था/समूह र वैचारिक-राजनीतिक संगठनभित्र भएका यौन हिंसालाई सुनिदिने निकाय नभएपछि एउटा हिंसापीडितले कुन स्तरको खली काट्छ, कति दुःख र हैरानी पाउँछ ? त्यसको भुक्तभोगी हुँदा थाहा पाएको निर्मम सत्य हो, जति नै क्रान्तिकारी दाबी गरे पनि व्यक्ति मूलतः यौनहिंसा पीडितको पक्षमा छैन ।’

‘मुद्दाका पक्ष र विपक्ष दुवै लामो समयदेखि वामपन्थको बाटो पक्रेर यहाँसम्म आएको र बीचको केही समय वैचारिक सहयात्रासमेत गरेको अवस्थामा पीडित पक्षले पीडकको दोष ठहर हुँदा अपेक्षित नैतिक-सामाजिक कारबाहीसहित ‘वाम-आन्दोलनलाई शुद्धीकरण गर्दै’ न्याय स्थापित गर्न सकिने विकल्प रहेसम्म वामपन्थी घेरो नफड्कने प्रयत्न अन्तिमसम्मै गरेको हो । तर, यो प्रयत्नलाई आन्दोलनप्रतिको सम्मान र उदारताका रूपमा होइन, उल्टै पीडितको कमजोरीका रूपमा लिइयो ।’

‘तत्कालीन अवस्थामा आफूलाई जोगाउन गरेको ‘भद्र’ प्रतिवादबाहेक कठोर प्रतिक्रियासमेत गर्न सकेको भए यो घटना जति पछि आयो उति ट्रमाटिक हुँदैनथ्यो कि ? तर, त्यतिबेला प्रतिकार गर्न नसक्नुको मूल्यमा अहिले पीडितले कुनै उपचार नपाउने तर्क जायज ठहरिन्छ ?

आफैंले पीडक भनेका व्यक्तिलाई प्रेम भावका गीत गुन्गुनाउँदै रेकर्ड गरेर रातिराति पठाउनुको कारण पनि सरिताले खोलेकी छन् । यदाकदा लेखपढ गर्दा दिक्क लागेका बेला ती गीत पठाइएको उनको भनाइ छ । यस्तो गीत आफूले अरु पनि केही साथीलाई पठाएको प्रमाण सुरक्षित रहेको सरिताले बताएकी छन् । तर, आफूले ‘पीडक’ ठानेका व्यक्तिलाई रोमान्टिक गीत गुन्गुनाएर पठाउनुको वास्तविक आशय भने उनको यो जवाफबाट खुल्दैन । कथित पीडकलाई ‘माया गर्ने को चोखो माया पनि देखियो…’, ‘यो दाजूको मिर्मिरे आँखा…’ लगायतका गीतहरू आफैंले गएर रेकर्ड गरी पठाएको सरिता स्वयम्‌ले स्वीकारेकी थिइन् ।

बाल्यावस्थामा भोगेको पीडा

तिवारीले ४ वर्षकै उमेरमा आफ्नो मामाबाट अत्यन्तै घृणित हर्कत भएको अर्को घटना पनि सार्वजनिक गरेकी छन् । उक्त घटनाबारे सरिताको बयान यस्तो छः

‘चार वर्षकी छँदा आमाका काकाको छोरा अर्थात् मामाले आफ्नो जननेन्द्रिय मेरो मुखभित्र हुलिदिएका थिए । एउटा वयस्क पुरुषको पूर्ण विकसित यौनांग आफ्नो मुखभित्र भएको, त्यसको नुनिलो चिप्लो पदार्थ मेरो मुखभरि अनि घाँटीसम्म पुगेको सम्झनाले मात्रै पनि कति अभिघात हुन्छ, शब्दमा भन्न कठिन छ । आज ४३ वर्षको उमेरसम्म पनि मामाघर जाँदा, खाँदा बस्दा, टीका दक्षिणा गर्दा म उनलाई मामा नै भन्छु, ‘हिंस्रक’ भन्न सकेकै छैन । यो घटना केही दिनअघि अहिलेको मुद्दा सुनाउने क्रममा बल्ल आमालाई भनेकी हुँ । दाइ-दिदी, साथीहरू कसैलाई भनिनँ ।’

४ वर्षको अबोध अवस्थामा घृणित हर्कत गर्ने ‘मामा’ विरुद्ध अब कुनै लडाइँ लड्छिन् वा लड्दिनन् भन्ने सरिताले यो लेखमा खुलाएकी छैनन् ।

३,श्रावण.२०७९,मंगलवार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्