
काठमाडौं । नेपालका लागि पहिलो पटक सृजना राणा बंगलादेश, भारत, नेपाल र श्रीलंकालाई समेट्ने गरी जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा निर्वाचित भएकी छन् ।
‘जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरको रूपमा नेतृत्व गर्न पाउँदा म साँच्चै सम्मानित छु । जोन्टाको जनादेश अनुसार, म महिला सशक्तिकरणको लागि काम गरिरहने र उनीहरूको अधिकारको वकालत गर्न र यस क्षेत्रका महिलाहरू र केटीहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्न प्रतिबद्ध छु,’ सृजना राणाले भनिन् ।
नेपालको पर्यटन र आतिथ्य क्षेत्रका प्रमुख व्यक्तित्व राणा हाल नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र होटल एसोसिएसन अफ नेपालकी प्रथम महिला अध्यक्षका रूपमा काम गरिरहेकी छन् ।
साउन १ गते जोन्टा क्लव काठमाण्डौंको साधारण बैठकमा, नवनियुक्त गभर्नर राणालाई अभिनन्दन गर्दै जोन्टा क्लब काठमाडौंका अध्यक्ष आभा शाहले भनिन्, ‘जोन्टा क्लब काठमाडौंलाई चार्टर गरेको ९ वर्षभन्दा कम अवधिमा हामीले यो उल्लेखनीय कोसेढुङ्गा हासिल गरेका छौं । जसले हामी सबैलाई उत्प्रेरित गर्छ । जोन्टाको मिशन र भिजनलाई प्रवर्द्धन गर्न गभर्नर राणाको नेतृत्वमा अझ काम गर्न गर्व र उत्प्रेरित गर्दछ ।’
क्लबले डिस्ट्रिक्ट नं २५ की कोषाध्यक्ष मीरा ज्योति, सेक्रेटरी निलिमा श्रेष्ठ र भाइस एरिया डाइरेक्टर एरिया २ की सीमा गोल्छालाई पनि सम्मान गरेको थियो ।
जोन्टा एक गैर नाफामुलक संस्था हो । यो संस्थाको सन्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ९ वर्षदेखि स्वाथ्य, शिक्षा, मानवाधिकार, समानता र आर्थिक सशक्तिकरण, बालविवाह र मानव बेचबिखन रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।
जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।
प्रतिक्रिया दिनुहोस्