लाखाैं लागतमा बनेकाे ‘मिनि मार्केट’ अलपत्र, प्रदेश र स्थानीय सरकारकाे बेवास्ता

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका- ८ को गुटु बजारमा बनाइएको कृषिजन्य वस्तुको मिनि हाटबजारका संरचना अलपत्र परेका छन् । प्रदेश सरकारको तीस लाख र सहकारीको पनि सोही बराबरको रकम संकलन गरी गुटु बजारमा उक्त संरचना बनाइएको थियो ।

मिनि मार्केटको रुपमा हाट बजार बनाउन प्रदेश सरकारको कृषि विकास निर्देशनालय र त्यहाँका पाँच वटा सहकारी संस्थाबीच सहमति भएको थियो ।

निर्देशनालय, सहकारी संस्था, स्थानीय सरकार र कृषकहरुको लगानीमा संरचना निर्माण गरिएको थियो । जहाँबाट किसानका तरकारी संकलन गर्नुका साथै त्यहाँबाट होलसेल बिक्री गर्ने योजना छ ।

सहकारी नमूना गाउँ उपभोक्ता समितिका अध्यक्ष खिमलाल कंडेलले २०७६/०७७, ०७७/०७८ मा २० प्रतिशत सहकारीको लागतबाहेक संरचना निर्माण र मर्मतसम्भारका लागि निर्देशनालयले झण्डै तीस लाख रुपैयाँ पठाएको बताए । त्यो रकमबाट पाँचवटा सटरसहितको संरचना निर्माण भएको छ । एउटा तरकारी बिक्री केन्द्रसमेत निर्माण गरिएको छ ।

स्थानीय सरकारले चासो नदिँदा त्यहाँ थप लगानी गर्न सकिएके छैन । निर्देशनालयले पनि आर्थिक वर्ष २०७८/०७९ मा थप बजेट नपठाउँदा संरचना अधुरो रहेको छ । लाखौं रुपैयाँ लगानी भइसकेका संरचना अलपत्र पर्ने सम्भावना बढेएको अध्यक्ष कंडेलले गुनासो गरे ।

‘हामी पाँच सहकारीले अब यसमा लगानी गर्न सक्ने अवस्था देखिएन । या त स्थानीय सरकारले आर्थिक लगानी गर्नपर्‍यो । नभए यो संरचनाहरुको स्वामित्व ग्रहण गरेर यसलाई जुन उद्दश्यका लागि निर्माण गरिएको हो त्यहीअनुसार सञ्चालन गर्नुप¥यो’ उनले भने, ‘विगतमा संघबाट बजेट आउने भनिए पनि बजेट आएन । बजेट नआउँदा कसरी सञ्चालन गर्ने भन्ने दुविधामा हामी छौं ।’

वडाध्यक्ष कमलबहादुर जीसीले विगतमा जे भए पनि अबको ६ महिनाभित्र कृषि मिनि मार्केट सञ्चालनमा आउने जिकिर गरे । ‘कम्तिमा तीन महिना वा बढीमा ६ महिनामा यो सञ्चालनमा आउँछ’, उनले भने, ‘त्यो दिन तपाईंहरुलाई पनि बोलाउँछौं ।’

उनले आफ्नो वडामा बनेको संरचनालाई अलपत्र पर्न नदिने प्रतिबद्धतासमेत जनाए ।

७,श्रावण.२०७९,शनिबार १२:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्