विदेशी महिलालाई बिहे गर्नासाथ नागरिकता दिने व्यवस्थाको समर्थनमा उभिए वामदेव

काठमाडौं । अंगीकृत नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउने व्यवस्थाप्रति राष्ट्रियसभा सदस्य वामदेव गौतमले स्वागत गरेका छन् ।

राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले कोही पनि अनागरिक भएर बस्न नहुने र अनागरिक बनाउन नहुने तर्क पेस गरे ।

गौतमले भने, ‘२०४७ सालको संविधानमा नागरिकता परित्याग गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था थियो । र, त्यसबेलाको कानूनमा पनि त्यो व्यवस्था थियो । त्यसबेलाको संविधानअनुसार त्यो वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा जटिल समस्या कहिल्यै पनि उत्पन्न हुन दिएनौं ।’

गौतमले थपे, ‘जुन व्यक्ति तराईमा गएको छ, त्यहाँ बसोबास गरेको छ । त्यसलाई थाहा हुन्छ, कि हाम्रो देशको जस्तो समस्या, के-के समस्या छन् भन्ने कुरा जटिल समस्या छन् । तर, समाधान गर्नैपर्छ । किनभने तराईमा आधा महिला भारततिरै गएर विवाह गर्छन् । आधा पुरुष भारततिरबाट विवाह गरेर बुहारी ल्याएर आउँछन् । १४ वर्षसम्म नागरिकता नदिने व्यवस्थाले आमाले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ । १४ वर्षसम्म अमा अनागरिक भएर बसिरहनुपर्छ । अनागरिक भएर कोही पनि मान्छे बस्न हुदैन र अनागरिक बनाइनु पनि पाइँदैन ।’

गौतमले अंगीकृत नागरिकता प्राप्त गर्नका लागि अहिले विधेयकमा ल्याइएको व्यवस्था नै ठीक भएको बताउदैँ बाहिरबाट विवाह गरेर आएको महिलाले उक्त देशको नागरिकता परित्याग गर्ने प्रक्रिया सुरू गरेको प्रमाण पेस गर्ने व्यवस्था भने गरिनुपर्ने बताए ।

९,श्रावण.२०७९,सोमबार १३:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्