
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले आज भेट गरी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने विषयमा छलफल गरेका छन् ।
छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्र मै महानगरको यातायातलाई व्यवस्थित र आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषय समावेश गरेको भन्दै यसमा आफू सकारात्मक रहेको बताइन् ।
‘काठमाडौं महानगरको मात्रै होइन उपत्यका कै यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलका सिलसिलामा आफूले राखेको धारणाबारे डंगोलले भनिन्, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेन्डा काठमाडौं महानगरपालिकाको पनि हो । साझाको यी एजेण्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’
भेटमा दीक्षितले नेपाल भरी र खास गरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरू लागिरहेको बताए ।
दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकै पटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराए ।
‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भेटपछि कुराकानी गर्दै भने, ‘अहिले साझाले पहिलो चरणमा करिब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन् । बाँकी ३७ बस दसैँपछि आउँदै छन् ।’
उनले सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको बताए ।
प्याकुरेलले मर्यादित यात्रा गराउनु सबैको दायित्व भएको भन्दै उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने बढी दायित्व काठमाडौं महानगरपालिकाको भएकाले केही दिन अघि मात्रै मेयर बालेन साहसँग र आज उपमेयर डंगोलसँग भेट गरेको पनि बताए ।
‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सहज बनाउने उदेश्यले तीन बटा विद्युतीय बस आइसकेका छन् । अब ३७ वटा बस आउँदै छन् । तर, अहिलेसम्म चार्जिङ स्टेशन कहाँ राख्ने भन्ने टुंगो छैन,’ प्याकुरेलले भने ।
प्रतिक्रिया दिनुहोस्