
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले लोकतान्त्रिक प्रणालीको पक्षमा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।
तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना गर्ने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने भएकाले यसप्रति सजक रहन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
उनले नेपालका सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति सरकार सदैव प्रतिबद्ध रहेको बताए । उनले स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्