अनिश्चितकालीन बिदामा बसेकोबारे सचिव मरासिनीको स्पष्टीकरण- मानसिक दबाब थेग्नै सकिनँ

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको दबाब तीव्र भएपछि मन्त्रालयका सचिव मधुकुमार मरासिनी एकाएक अनिश्चितकालीन बिदामा बसे । यसले अर्थमन्त्रीमाथि लागेको आरोपमा अझ बल पुग्यो र त्यसको भोलिपल्टै शर्माले राजीनामा दिए ।

अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले लिएपश्चात मरासिनीको अनिश्चितकालीन विदा पनि टुंगियो र उनी फेरि मन्त्रालय आउन थाले । त्यसलाई लिएर सबैले अनुमान गरेका थिए कि उनी अर्थमन्त्री शर्मासँग या त असन्तुष्ट छन् यो आफू पानीमाथि ओभानो बन्ने प्रयासमा छ्न् ।

संसदीय छानबिन समितिले सचिव मरासिनीको बयान लिँदा यो विषय उप्काएको थियो । जवाफमा उनले आफूलाई मानसिक दबाब परेर बिदामा बसेको जवाफ दिएका छन् ।

उनले भनेका छन्, ‘जुन किसिमको विवाद मिडियामा आयो र त्यसपछि सदनमा पनि कुरा उठ्यो । मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रुपमा मलाई पनि धेरै नकारात्मक टिकाटिप्पणी आए । मानसिकरुपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो ।’

प्रधानमन्त्री देउवा आफैँले अर्थ मन्त्रालय सम्हालेपछि आफूलाई फर्केर सहयोग गर्न आग्रह गरेको उनको भनाइ छ ।

‘देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन,’ उनले भनेका छन् ।

समितिलाई बयान दिने क्रममा मरासिनीले जेठ १४ को राति अनाधिकृत व्यक्ति कोही पनि अर्थमन्त्रालयमा प्रवेश नगरेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘करका दर निर्धारण गर्ने समयमा कोही अनधिकृत व्यक्तिको संलग्नता छैन । मिडियामा त २ जना सचिव, राजस्व महाशाखा र बजेट महाशाखाका सहसचिव भएको उल्लेख छ, जबकि राजस्व महाशाखाका सहसचिव बजेट वक्तव्य मस्यौदालाई अन्तिम रुप दिने कार्यमा व्यस्त हुनुहुन्थ्यो । बजेट महाशाखाका सहसचि अर्को काममा हुनुहुन्थ्यो । यसले पनि मिडियामा आएका कुरा आधारहीन हुन् भन्ने देखाउँछ ।

आर्थिक विधेयकमा राजस्व सचिवको हस्ताक्षर नभएको विषयमा सांसदहरुले प्रश्न गर्दा उनले यो सामान्य भएको प्रतिक्रिया दिएका छन् ।
‘राजस्व सचिव सबै प्रक्रियामा पूर्णरुपले संलग्न हुनुहुन्छ । प्रस्तावको रूपमा मन्त्रीपरिषद् जाने दस्तावेजमा एकजना सचिवले हस्ताक्षर गर्ने हो, अर्थ सचिवले गर्ने अभ्यास छ । त्यसैले राजस्व सचिवको हस्ताक्षर नभएको हो,’ उनले भनेका छन् ।

१३,श्रावण.२०७९,शुक्रबार १८:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्