
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता तथा कार्यकर्ता सबैले पार्टी अनुसारको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन् । उनले कांग्रेसको कार्यकता भएपछि उसले गर्ने गतिविधिले समाजमा कांग्रेस प्रतिको दृष्टिकोण तय हुने भएकाले सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् । पार्टीले गरेको निर्णयको पक्षमा सबैजना उभिन सके मात्रै पार्टी बलियो हुँने उनको भनाइ छ ।
उनले भने, कांग्रेस पार्टी भित्रको एकता बलियो भएमात्रै मुलुकमा देखिएका चुनौति सामना गर्न सकिने छ । सार्वजनिक मन्चबाट या सामाजिक संजालबाट पार्टी निर्णयभन्दा आफू फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्न आवश्यक छ ।
नेता सिंंहले अझै पनि मुलुक मा राजनीतिक अस्थिरता कायम रहेकाले राजनीति स्थाईत्व र संविधानको अक्षर कार्यन्वयन गराउन कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेस पहिलो दल बनाउने गरी निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सो बताएका हुन् । मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिस्ट पार्टीहरु भएको समेत बताए ।
कांग्रेसका कार्यकर्ताले नै अब सामाजिक संजालदेखि सम्रग गतिविधि चुनावी माहोल निर्माण गर्ने गरी काम गर्न समेत निर्देशन दिएका छन् । मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेस बाहेक अरु दलले गर्न सक्दैन भन्ने स्थापित भैसकेको विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको बताए । कांग्रेसको नेतृत्वमा भए गरेका उपलब्धिलाई आ–आफ्नो ठाउँबाट प्रचारप्रसारमा लिएर जानसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्