जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा, अख्तियारले जोगाएको दाबी

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।

‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीका नेता बीपी साहले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

बुधवार आयोगले साइकल खरिदमा १० करोडभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालिन प्रदेश सचिव यामप्रसाद भुसालसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आरोगले भ्रष्टाचार भएको निष्कर्ष निकालेकाले तत्काल मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने जनमत पार्टीका नेता साहको माग गरे ।

उनले भने, ‘हाम्रो पार्टीको दबाबले छानबिन प्रक्रिया सुरु पनि भयो । छानबिन सुरू हुनासाथ मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो । त्यतीबेला दिएनन् । तर, अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप उनको छ ।

राजनीतिक दबाब र प्रभावका कारण अख्तियारले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको पनि नेता साहको दावी छ । ‘त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ,’ उनले थपे ।

१९,श्रावण.२०७९,बिहीबार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्