चुनाव घोषणा हुँदैमा संसद विघटन हुन्न, उम्मेदवारी मनोनयनसँगै सांसदहरु भूपू हुन्छन्- बडाल

काठमाडौं । निर्वाचनको मिति घोषणासँगै प्रतिनिधिसभा भंग हुन्छ कि यसले निरन्तर काम गरिरहन्छ भन्ने प्रश्न उठिरहेका वेला पूर्वमहान्यायाधिवक्ता एवं एमाले नेता रमेश बडालले उम्मेदवार मनोनयन नभएसम्म प्रतिनिधिसभा कायमै रहने जिकिर गरेका छन् ।

एमालेको कानून विभाग प्रमुखसमेत रहेका बडालले चुनावको मिति घोषणा संवैधानिक बाध्यता भएकाले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न नपर्ने र मनोनयन नभएसम्म सांसदहरु भूतपूर्व नहुने बताए ।

बडालले भने, ‘२०७४ सालमा पनि चुनावको मिति भदौ १४ गतेको मन्त्रिपरिषदले घोषणा गर्यो । तर, असोजसम्म संसदबाट ऐनहरु पारित भइरहेका थिए । अहिले पनि संसद अधिवेशन अन्त्य भएको छैन, संसदले आफ्नो काम गर्नसक्छ । मिति घोषणा हुँदैमा संसद विघटन हुँदैन ।’

बडालले समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको मनोनयन पहिले भएको नजिर रहेकाले जुन दिन उम्मेदवारहरुको मनोनयन हुन्छ त्यसदिनबाट संसद नरहने र अहिलेका सांसदहरु भूतपूर्व हुने बताए ।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेको छ । तर, संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेको छैन । त्यस्तै संसद अधिवेशन पनि चालु रहेको छ ।

कतिपय कानूनविद्ले भने चुनावको मिति घोषणासँगै संसद विघटन हुने दाबी गरेका छन् ।

१९,श्रावण.२०७९,बिहीबार १५:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्