बाबुरामले सत्ता गठबन्धन नछाड्ने, नेसपा बन्ने भयो गठबन्धनको छैटौं घटक

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो ।

अहिले सत्ता गठबन्धन पाँचदलीय छ । जसपाबाट विभाजित नेपाल समाजवादी पार्टीलाई पनि सत्ता गठबन्धनकै अंग मान्न उपेन्द्र यादव बाहेकका नेताहरू सहमत भइसकेकाले अब गठबन्धन ६ दलीय हुने भएको छ ।

जसपाका दोस्रो वरीयताका अध्यक्ष महिन्द्रराय यादवले यो गठबन्धन आफूहरूको भूमिकाका कारण सरकारमा पुगेको भन्दै कसैले निषेध गर्दैमा आफूहरू सत्ता गठबन्धनबाट बाहिर नहुने बताए । उनले नेपाल प्रेससँग कुरा गर्दै तत्कालीन जसपाका ६ जना सांसदले उपेन्द्र यादव पक्षमा साथ दिएका कारण सत्ता गठबन्धनको बहुमत पुगेको बताए ।

नेपाल समाजवादी पार्टी (नेसपा) दर्ताको प्रक्रियामा रहेकाले गठबन्धनको पछिल्लो बैठकमा आफूहरू सहभागी नभएको भन्दै यादवले अब सत्ता गठबन्धनकै नयाँ घटकका रूपमा आफूहरू सक्रिय रहने बताए । उनले गठबन्धनमा लोसपालाई समेत समेट्न सकिने बताएका छन् ।

सत्ता गठबन्धनभित्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानसमेत समेटेर समाजवादी केन्द्र बनाउनेबारे समेत छलफल भइरहेको यादवले बताए । समाजवादी केन्द्र गठनको निर्णय नेकपा एसको सचिवालय बैठकले पनि गरिसकेको छ ।

२२,श्रावण.२०७९,आईतवार १२:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्