प्रधानन्यायाधीश महाभियोगका भागिदार थिए, तर यसरी होइनः एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोगका भागिदार नै रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘उनी महाभियोगको भागिदार हुन् । यो हामीले संसदको बैठकमा पटक-पटक उठाएको हो । हामीले गहिरो छानबिन गरौं भनिरहेकै थियो,’ उनले भने, ‘तर, यो ढंगले होइन ? यसप्रकारणको प्रतिशोध साँध्नेगरी होइन ।’

सत्ता गठबन्धनले गलत नियतका साथ यो महाअभियोग ल्याइएको उनले बताए । ‘कस्तो देखियो नियत भने, जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने,’ उनले भने ।

फागुन २९ गते दर्ता भएको महाभियोग सामान्यतयाः तीन महिनामा टुंगिनुपर्नेमा अहिले आएर प्रक्रिया सुरू गर्नुले गलत नियत देखिएको सांसद ज्ञवालीले बताए ।

‘नेपालीमा एक उखान छ । दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई,’ उनले भने, ‘दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन ।’

२२,श्रावण.२०७९,आईतवार १३:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्