कुख्यात मिटरब्याजी श्याम परदेशी दम्पतीविरुद्ध मुद्दा दायर, झण्डै ४ करोड बिगो दाबी

काठमाडौं । सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सँगै उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो । विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका-२ स्थायी घर भएका शाहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।

ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो । यस्तै उनकी श्रीमती मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ । मन्जुदेवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ।

सर्लाही प्रहरीमा दर्ता भएको ठगी, अपराधिक लाभलगायत मुद्दामा अदालतले २०७६ असोजमा परदेशीलाई थुनछेक आदेश गरेको थियो । पीडितहरू काठमाडौं आएपछि शाहलाई पक्राउ गर्न दबाब थियो ।

२५,श्रावण.२०७९,बुधबार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्