काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगमी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रुपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।
जनतामा माओवादीप्रति आकर्षण देखिएको तर स्थानीय चुनावमा पार्टीभित्रको अन्तरविरोधले सोचेजस्तो नतिजा नआएको उनले बताए ।
पोष्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गरे ।
उनले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरी जित्छौं भन्ने देखिन्थ्यो । हामी दोस्रो पार्टी हुन सक्थ्यौं । ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौं । तर, हामीले जितेका ५० भन्दा बढी सिटहरु गुमे ।’
उनले जनतामा पार्टीको जनमत भने नखस्किएको बताए ।
‘हाम्रो आकर्षण घटेर सिट गुमेको भए हामीले कमजोरी गर्यौं, जनताले साथ दिएनन् भन्ने हुन्थ्यो । तर पार्टीभित्रकै अन्तरविरोधका कारण हामीले ती स्थानहरु गुमायौं । हाम्रै साथीहरुबाट अन्तरघात भयो ।’
अहिले माओवादीप्रति जनतामा आकर्षण देखापरेको प्रचण्डले दावी गरे । यसलाई बचाउन सकेमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो वामपन्थि शक्ति बन्न सकिने उनको भनाइ थियो ।
‘अहिले फेरि पूर्व माओवादी र अरु कम्युनष्टि घटकबाट माओादीमा दिनदिनै ठूलो संख्यामा आउने लहर चलिरहेको छ । यो सबैलाई बचाउनसक्यौं भने वामपन्थि आन्दोलनको पहिलो पार्टी बन्ने पूरै सम्भावना छ,’ प्रचण्डले भने ।
गठवन्धनलाई अगाडि बढाउनु पर्ने र वामपन्थी आन्दोलनलाई एकजुट गराउनुपर्ने दोहोरो जिम्मेवारी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्