गृहमन्त्री खाडले उद्घाटन गरे आफ्नै कार्यकर्ताले अवरोध गरेको पार्क

रुपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले रुपन्देहीको शुद्धोधनमा आफ्नै कार्यकर्ताले निर्माण रोक्न तोडफोड गरेको पार्क शनिवार उद्घाटन गरेका छन् ।

शुद्धोधन गाउँपालिका वडा नं ५ मानपकडीमा निर्माण सम्पन्न दर्बाह पार्क बनाउने समयमा कांग्रेस कार्यकर्ताले लामो समय आन्दोलन गरेका थिए ।

उनीहरूले खोला छेउमा पार्क बनाउन नहुने, शव दाह घाट बनाउनुपर्ने भन्दै लामो समय गाउँपालिकामा तालाबन्दी गरेर आन्दोलन गरे पनि गाउँपालिकाले निर्णय गरेर यहाँ पार्क बनाइएको थियो ।

निर्माणको सुरुवातदेखि नै यसलाई रोक्नका लागि कांग्रेसबाट लुम्बिनी प्रदेश सांसद रहेकी पुष्पा थरुनीसहितको टोलीले अवरोध गरेका थिए । निर्माण सुरु भएपछि उनीहरूले तोडफोड गरेका थिए ।

दर्बाहा बगैँचा तथा सिमसार क्षेत्रको संरक्षणको लागि गरिएको तारबार र पर्खाल भत्काउनेहरु विरुद्ध गाउँपालिकाले प्रहरी प्रशासनलाई गुहारेर निर्माण सुरु गरे पनि शनिवार उनै तोडफोड गर्नेहरू पार्क उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणसग पुगेका थिए ।

लुम्बिनी प्रदेश सांसद तुलसीप्रसाद चौधरी, तत्कालीन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी तथा गाउँ कार्यपालिका अन्य पदाधिकारीको ठूलो संघर्षले पार्क निर्माण भएको थियो ।

दर्बाह मन्दिर र सोको वरिपरिको खालि जमिन समेटेर दर्वाह उद्यान बनाइएको छ । उक्त उद्यानको लागि पालिकाले गुरुयोजना नै बनाएर स्थानीयको सहमतिमा काम गरेको थियो ।

शुद्धोधन गाउँपालिकाको पहिलो गाउँसभाले ४० लाख विनियोजन गरेर उक्त स्थलमा उद्यान बनाउन सुरु गरेको थियो । २०७४÷०७५ मा सुरु भएको गुरुयोजना ०७५/०७६ मा पनि ४० लाख बजेट विनियोजन भई नदी तटबन्ध गरिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकार पर्यटन मन्त्रालयको ३० लाख, गाउँपालिकाको ५० लाख र प्रदेश सरकारको समानीकरण बजेटबाट ५० लाखसहित १ करोड ३० लाखको लागतमा पार्क निर्माण गरिएको थियो ।

पार्क निर्माण रोक्नका लागि प्रदेश सांसद पुष्पा थरुनी, स्थानीय वीरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण चौधरीसहित नेपाली काँग्रेस शुद्धोधन गाउँपालिका सभापति शेरबहादुर काफ्ले तथा स्थानीय विपिन कुर्मीलगायतले नेतृत्व गरेका थिए । उनीहरूले मसानघाट मासेर पार्क बनाउने योजना नहुने र खोलाको क्षेत्र खुला राख्नुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

निर्माण सम्पन्न पार्कको व्यवस्थापनको जिम्मा हाल स्थानीय दर्वाह टोल विकास संस्थालाई दिइएको छ । संस्थाले ५ वर्षसम्मका बालबालिकालाई प्रवेश शुल्क निःशुल्क गरेको छ भने अन्यको हकमा २० रुपैयाँ तोकेको छ ।

पार्क अवलोकनकै लागि अहिले दैनिक १ सय जनाको हाराहारीमा आउने गरेको दर्वाह टोल विकास संस्थाका सचिव जीवलाल पौडेलले बताए । पार्कको गुरुयोजना नै बनाएर अगाडि बढेकाले यहाँ अहिले दिनहुँ आन्तरिक पर्यटकहरू आएर रमाउन थालेको र बिदाको समयमा धेरै आउने पौडेलले बताए ।

शनिवार बिहान उद्घाटन गरिएको यो पार्क शिलान्यास गर्ने व्यक्ति कार्यक्रम स्थल नजिकै रहे पनि राजनीतिक पूर्वाग्रहका कारण सहभागी बनाइएन । पार्क शिलान्यास गरेका तत्कालीन पालिका अध्यक्ष किशुनचन्द्र चौधरीले आफूलाई सहभागी नगराइएको बताए ।

चौधरीले बनाउने बेलामा त्यसरी दुःख दिने, तोडफोड गर्ने, वडाध्यक्ष गौतमलाई घरमै आक्रमण गर्न जाने, मुद्दामामिला गर्ने अनि अहिले उद्घाटनमा पार्टी कार्यक्रमजस्तो गरेर अरूलाई खबरसमेत नगर्ने विषय राजनीतिक बैमानी भएको बताए ।

‘कार्यक्रम सुरु हुने बेलामा कर्मचारीले लौ आउनुहोस् भनेका थिए, ९ बजे उद्घाटन कार्यक्रमको तयारी गरेर आफ्ना पार्टी निकटकालाई हिजो नै बोलाइएको रहेछ, ८ बजे कार्यपालिका बैठक बसेजस्तो गरेर उपाध्यक्षलाई बोलाइएको रहेछ, यतिसम्म घिनलाग्दो राजनीति पनि गर्नुहुन्छ शिलान्यास गर्ने मान्छे यही नजिकै छु, उद्घाटन गर्नेको शिलालेखमा नाम राखियो ठूला अक्षरमा हामीले यति दुःख र लगानी गरेर बनायौँ, म आफैले शिलान्यास गरेँ कतै नाम समेत जोडिएन’, चौधरीले भने । चौधरी एमालेबाट निर्वाचित थिए अहिले यहाँ कांग्रेसको नेतृत्व छ ।

प्रदेश सांसद तुलसी चौधरीले यति लामो समय मेहनत र लगानी गरेर निर्माण गर्ने तत्कालीन गाउँपालिकाको नेतृत्व तथा शिलान्यास गर्ने व्यक्तिको नाम राजनीतिक पूर्वाग्रहले शिलालेखमा नराखिनु र कार्यक्रममा नबोलाइनु गलत भएको कार्यक्रममै विरोध गरेका थिए ।

गाउँपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले भने पूर्व तयारीको कार्यक्रम नभएर गृहमन्त्री जिल्लामा आएको समय मिलाउँदा अघिल्लो दिन ढिला कार्यक्रम तय भएकाले फोनमार्फत सबैलाई जानकारी दिइएकाले सबै जुट्न नसकेको हुनसक्ने दाबी गरे ।

२८,श्रावण.२०७९,शनिबार १६:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्