वागमती प्रदेशका छोरी-बुहारीको सवा लाख छात्रवृत्ति रकम फ्रिज

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका गरिब, जेहेन्दार र छात्राहरुका लागि भनेर सरकारले छुट्याएको छात्रवृत्ति रकम फ्रिज भएको छ ।

गत आर्थिक वर्षमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले छोरी–बुहारी छात्रावृत्ति रकम वितरण गर्न नसकेपछि रकम फ्रिज भएको हो ।

निर्देशनालयले प्रदेशभरीका क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरु (छोरी–बुहारी) लाई छात्रवृत्ति रकम दिने भनेर रकम छुट्याए पनि कार्यविधि संसोधन हुन नसक्दा रकम फ्रिज भएको शिक्षा विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले जानकारी दिए ।

प्रदेशभरीका छोरी–बुहारीसहित शैक्षिक छात्रवृत्तिको लागि विनियोजन गरिएको १ करोड २५ लाख रुपैँया फ्रिज भएको दर्जीले बताए । निर्देशनालयले गत आर्थिक वर्षमा कक्षा ११ र १२ का प्राबिधिक विषय अध्ययनरत विद्यार्थीलाई दिइने छात्रवृत्ति रकम दुई जनालाई मात्र दिएको उनको भनाई छ ।

बागमतीका सबै ११९ स्थानीय तहको विद्यार्थीका पठनपाठनको सहयोगको लागि छात्रावृत्ति कार्यक्रमको लागि रकम विनियोजन गरिएको भएपनि कार्यविधिको अभावले वितरण गर्न नसकेको उनको भनाई छ ।

स्नातक तहमा अध्ययनरत छात्राहरुले पहिलो वर्षको वार्षिक परिक्षा दिएपछि दश हजार रुपैयाँ र स्नातकोत्तर तहमा अध्ययनरत छात्राहरुले १५ हजार रुपैयाँ वितरण गर्नुपर्ने भएपनि कार्यविधिको अभावमा रकम फ्रिज भएको उनको भनाई छ ।

समयमा नै कार्यविधि बनाएर वितरण हुनुपर्नेमा ढिला हुँदा समस्या भएको उनले बताए । रकम फ्रिज भएसँगै सयौँ विद्याथीहरु आफूले पाउने अधिकारबाट बञ्चित हुनुपरेको छ ।

२९,श्रावण.२०७९,आईतवार १४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्