समीक्षा बाँस्कोटालाई प्रश्न, अब विवेकशील साझाले राजा मान्छ कि मान्दैन?

काठमाडौं । रवीन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै विवेकशील साझा पार्टीले समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष बनाएको छ।

लामो समयपछि आइतबार बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो।

बाँस्कोटा अध्यक्ष चयन भएसँगै मंसिरमा हुने संसदीय चुनावका लागि विवेकशील साझा निर्वाचन आयोगमा दर्ता हुने भएको छ। पार्टी दर्ताका लागि आजै निवेदन दिने उक्त पार्टीका नेताहरूले बताएका छन्।

पार्टी अध्यक्ष हुँदा मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने प्रस्ताव ल्याएका थिए। पछिल्लो समय उनी संवैधानिक राजसंस्थाको पक्षमा वकालत गरिरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई राजाका रूपमा देख्न पाउँ भनेर सामाजिक सञ्जालमै लेखेका छन्।

अध्यक्षबाट राजीनामा दिए पनि आफू विवेकशील साझाको सदस्यका रूपमा क्रियाशील हुने मिश्रको भनाइ छ।

यस्तो अवस्थामा विवेकशील साझाको नयाँ नेतृत्वले राजसंस्थाको मुद्दालाई के गर्छ भन्ने आमचासो छ।

सोमबार दिउँसो सेतोपाटी संवाददाता मनोज सत्यालले विवेकशील साझा पार्टीकी अध्यक्ष बाँस्कोटालाई सम्पर्क गरी तपाईं नेतृत्वको पार्टीले राजसंस्था मान्छ कि मान्दैन भनी सोधेका थिए।

जवाफमा बाँस्कोटाले भनिन्,‘रवीन्द्रजीले राजसंस्थाबारे जे मुद्दा उठाउनुभएको थियो। त्यो अध्यक्षबाट राजीनामा दिएपछि उठाउनु भएको हो। विवेकशील साझाको तत्कालीन केन्द्रीय समितिले उहाँको ‘विचार भन्दामाथि देश’ भन्ने दस्तावेज (पहिलो संस्करण भनौं न) त्यो पारित गरेको हो। पछि त उहाँले त्यसको दोस्रो संस्करण पनि ल्याउनु भएको छ। राजाको विचार रवीन्द्रजीले बोकेको व्यक्तिगत विचार हो, पार्टीको विचार होइन।

बाँस्कोटाले आफू व्यक्तिगत रूपमा पनि अहिलेको संविधानसँग सहमत भएको बताइन्।

‘म अहिलेको संविधानसँग पूर्णत: सहमत छु। अहिले हामीले व्यवस्थाभन्दा पनि जनतालाई सेवा प्रवाहको एजेन्डालाई उठाउनु पर्छ,’ उनले भनिन्।

आइतबारको बैठक पार्टीका लागि आइसब्रेक भएकाले अब नियमित बैठक बसेर पार्टीलाई निर्वाचन केन्द्रित बनाउने उनको भनाइ छ।

‘अब हामी डेलिभरीको मुद्दालाई लिएर चुनाव केन्द्रित हुन्छौं,’ बाँस्कोटाले भनिन्।

३०,श्रावण.२०७९,सोमबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्