नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् ।

गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए । तर स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने मनस्थितिमा पुगेको उनी निकट एक नेताले बताए ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गौरसहित चारवटा पालिका जितेको थियो ।

स्थानीय तह निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ मा वडाको मत हेर्दा एकीकृत समाजवादीले सबैभन्दा धेरै १९ हजार ६९८ मत पाएको छ ।

१६ हजार ९२८ मतसहित कांग्रेस दोस्रो हुँदा लोसपाको मत १२ हजार ६२ छ । जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ । नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ ।

सत्ता गठबन्धनका दलहरुले वडामा पाएको मत जोड्दा नेपाल रौतहट क्षेत्र नम्बर १ मा सुरक्षित हुने देखिएको छ ।

०७० को निर्वाचनमा रौतहट र काठमाडौंबाट प्रतिष्पर्धा गरेर दुबै ठाउँमा चुनाव जितेका नेपालले ०६४ मा भने दुबै निर्वाचन क्षेत्रमा हार व्यहोरेका थिए । त्यसअघिका चुनावमा भने नेपाल रौतहटबाटै प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।

३१,श्रावण.२०७९,मंगलवार १२:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्