
काठमाडौं । राप्रपा नेपालले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही सीमित क्षेत्रमा मात्र तालमेल गर्ने भएको छ ।
सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । ‘तालमेल नभएका बाँकी सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार खडा गर्नेछ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
राप्रपा नेपालले असोज पहिलो हप्ता वीरगञ्जमा बृहत राष्ट्रिय भेला गर्ने र भदौ अन्तिम साता मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यहरु, प्रदेश अध्यक्षहरु र भातृसंगठनका अध्यक्षहरू सदस्य रहेका छन् ।
राप्रपा नेपालले अध्यक्ष थापाकै संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति पनि गठन गरेको छ । समितिमा डा. बिष्णु भण्डारी, दिलनाथ गिरी, सुरेश आचार्य, कुमार श्रेष्ठ, रामनरेश यादव, लक्ष्मी कुमारी सत्याल र राजाराम वर्तौला ‘चुनेली’ सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्