
काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ ।
‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ ।
१५१ सदस्यीय राजनीतिक समिति जसपाको ४९९ सदस्यीय केन्द्रीय समितिभन्दा माथि र केन्द्रीय कार्यकारिणी समितिभन्दा तल रहने संरचना हो । जसपाको विधानमा ४९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि हाल ४६६ जनाको केन्द्रीय समिति रहेको छ ।
बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष अशोक राई र केन्द्रीय कार्यकारिणी सदस्यहरू पनि उपस्थित रहने कार्कीले जानकारी दिए ।
जसपा केन्द्रीय कार्यालयका अनुसार यस्ता छन् बैठकका ४ एजेन्डाहरु-
१. आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी सम्बन्धमा ।
२. गठबंधन दलभित्र सीट संख्या बिभाजन र उम्मेदवारहरुको मापदण्ड निर्धारण ।
३. बिभाग तथा भ्रातृ संगठनहरुको पुनर्गठन बारे ।
४. संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरु ।
प्रतिक्रिया दिनुहोस्