संघीयताबारे अध्ययन गर्दै राष्ट्रिय सभाको टोली

कैलाली । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मुलुकमा संघीय प्रणालीबारे अध्ययन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सभाको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति ले आज कैलालीको लम्की चुहामा आयोजना गरेको संघीय शासन प्रणाली सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संघीय प्रणालीलाई अझै बलियो बनाउन अध्ययन आवश्यक रहेको बताए ।

‘पाँच वर्ष पुग्न लाग्दा यसको समीक्षा आवश्यक रहेको छ । यसको कमी कमजोरी हटाएर संघीयता राम्रो कुरा देखाउन आवश्यक रहेको छ’ उनले भने ‘त्यही उद्देश्यले हामीले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छौँ ।’

संघीय शासन प्रणाली कार्यान्वयन गर्दा जनप्रतिनिधि तथा कर्मचारीले भोग्नु परेको समस्याका विषयमा संघीय संसद राष्ट्रिय सभा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति संयोजक खिमलाल देवकोटाले छलफल चलाएका थिए । उनले २२ वटा एकल अधिकार र १५ वटा साझा अधिकारहरूका बारेमा समस्या रहे, नरहेको, संघीय र प्रदेश सरकारले कानुन निर्माणमा सहयोग गरे नगरेको लगाएका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधिहरूले आफूहरूले भोगिरहेका विभिन्न समस्याहरू बताएका थिए ।

‘लम्की चुहा र मोहन्याल गाउँपालिकामा सीमा विवाद छ । कर्णाली नदीमाथिको केही भाग मोहन्यालले पनि मेरो हो भन्छ लम्की चुहाले पनि मेरो भन्ने गरेको छ’ वडा नम्बर ३ का वडाध्यक्ष लभ साहीले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्जले पनि विभेद गरेको छ ।’

वडा नम्बर १ का वडाध्यक्ष नेत्र प्रसाद खनालले राष्ट्रिय निकुञ्ज ऐन संशोधन गरेर जन पक्षीय बनाउन आवश्यक रहेको बताए । उनले प्रदेशको अधिकार पनि वडा र नगरमा जोड दिएका थिए ।

‘प्रदेशलाई समन्वयनकारी भूमिका खेल्नु दिनुपर्छ’ उनले भने, ‘स्थानीय तहलाई बलियो बनाउन आवश्यक छ ।’

२०७४ मा पनि वडाध्यक्षमा निर्वाचित भएर फेरी निर्वाचित भएकी वडा नम्बर ५ कि वडाध्यक्ष माया बिष्टले स्थानीय तह बिस्तारै संस्थागत हुँदै गएको बताइन् ।
‘पहिलो वर्ष कानुन नभएर समस्या भयो । १ वर्षपछि केही विधेयकहरू पास गरे जनताहरूलाई सहज बनाएका थियौँ’ उनले भनिन्, ‘अहिले बिस्तारै जनताले स्थानीय तहबाट लाभ लिइरहेका छन् ।’

लम्की चुहाकी उपप्रमुख जुइना चौधरीले पनि क्रमिक रुपमा सुधार रहेको बताइकी थिइन् ।

प्रशासकीय अधिकृत पितृभक्त गिरीले राजश्व अनुमान गरे अनुसारको संकलन नहुँदा समस्या भइरहेको बताए । उनले संघीयता बलिया बनाउन न्यायिक समितिमा वकिल उपप्रमुखले भनेको अनुसार राख्नु पर्ने र अनुगमन प्रभावकारी बनाउन आवश्यक रहेको जनाए ।

कार्यक्रममा उपस्थित सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दलका नेता प्रकाश शाहले संघीय शासन प्रणाली बलियो बनाउन आवश्यक रहेको बताएका थिए ।

‘यो व्यवस्था असफल भए राष्ट्र असफल हुन्छ हुन्छ’ उनले भने ‘व्यवस्था असफल बन्न नदिन सबै लाग्नु पर्छ ।’ पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका शाहले संविधानमा रहेका अधिकारहरूसमेत प्रदेशमा नदिए प्रदेश सरकार बलियो बन्न नसकेकोमा जोड लिएका थिए ।

‘सेना बिनाको सेनापति जस्तो गरी यो व्यवस्था आएको छ । सिडिओलाई गोली हान्ने आदेश छ । प्रहरी प्रदेशको हुने अनि आदेश दिने सिडिओ संघको हुने । कसरी सफल हुन्छ यो व्यवस्था ?’ उनले प्रश्न गरे ।

उनले प्रदेशकै कारणले समस्या आएको भए पुनर्विचार गर्नुपर्नेमा जोड दिए । स्थानीय तहलाई शक्ति सम्पन्न गर्न पनि उनले सुझाव दिएका थिए ।

राष्ट्रिय सभा सदस्य मदन कुमारी शाहले सातै प्रदेशबाट संघीयताको विषयमा सुझाव लिएर त्यसको निचोड सरकारलाई बुझाउने तयारी भइरहेको जनाए ।
आज स्थानीय तहसँग सम्बन्धित सुझाव संकलन गरेको टोलीले भोली धनगढीमा प्रदेश सरकारको बारेमा समेत छलफल गर्ने जनाएको छ ।

१,भाद्र.२०७९,बुधबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्