स्वदेशी उत्पादनको प्रचारप्रसार र विस्तार गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्याउन आग्रह समेत गरे ।

उनले स्ववदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवर्द्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे । उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताए ।

व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ स्टल राखिएको आयोजकले जनाएको छ । मेलाको ५५ हजारले अवलोकन गर्ने र दुई करोडको कारोबार हुने अनुमान गरिएको छ ।

२,भाद्र.२०७९,बिहीबार १५:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्