कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे १० बजे पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक राखेका हुन् ।

बैठक केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १०:३० बजे बस्ने छ । बैठकले सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर अहिले मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालयमा राखिएको छ भने बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ ।

उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

५,भाद्र.२०७९,आईतवार १०:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्