स्वास्थ्यमन्त्रीकै गाउँमा पुग्दैन एम्बुलेन्स- ‘गाउँकै नेता मन्त्री भएको महसुस भएन’

इटहरी । तेह्रथुमबाट चुनाव जितेर प्रदेश र संघमा राज्यमन्त्री हुनेहरुको नाम धेरै संख्यामा आउँछ । संघीय क्याबिनेटको फुल मन्त्री भएका नेता भने भवानीप्रसाद खापुङमात्रै हुन् । उनी तेह्रथुमको प्रथम संघीय क्याबिनेट मन्त्री हुने लक्की नेता भएका छन् ।

तेह्रथुमकै प्रथम क्याबिनेट मन्त्रीकै गाउँलेहरु भने खापुङ जस्ता लक्की छैनन् । यसमा एक हुन् तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नम्बर ६ सिक्देमकी ९१ वर्षीया सरिमाया थापा । गत साउन ४ मा उनी अचानक बिरामी परिन् । उनको घरमा पुग्ने सडक छ । सडक राम्रो छैन । एम्बुलेन्स त झनै पाउँदै पाउँदैन ।

‘दश जनाले पालैपालो स्ट्रेचरमा बोकेर ल्यायौं’, स्वास्थ्यमन्त्रीकै वडामा रहेको म्यान्छ्यायेम अस्पतालमा बोकेर ल्याइएकी थापाका छोरा ऋषि थापाले भने, ‘बाटो नै राम्रो छैन । एम्बुलेन्स झनै पाइँदैन ।’

थापालाई आफ्नै गाउँपालिकाको अस्पतालमा ल्याउन समस्या भयो । मेन्छ्यायेमको पालिका मुकाम मोराहाङमा रहेको गौखुरी स्कुलका शिक्षक काजीमान खापुङको तनाव थापाको भन्दा गम्भीर छ । उनी जेठ १० गते अचानक स्कुलमै अचेत भए । केही समयपछि होस आयो । होस आएपछि बल्लतल्ल ट्याक्सी आयो । ट्याक्सीले ११ किलोमिटर हाराहारीको जिरिखिम्ती बजारसम्म ल्यायो । जिरिखिम्ती बजारबाट विराटनगरको नोबेल अस्पतालमा लान अर्को एम्बुलेन्स लिनुपर्‍यो ।

‘धन्न त्यो दिन गाउँमै गाडी राखिएकाले मैले सहजै पाएँ’, शिक्षक खापुङ भन्छन्, ‘त्यो गाडी नभएको भए धेरै गाह्रो हुन्थ्यो । एम्बुलेन्स त आउँदै आउँदैन ।’

खापुङ जस्तै स्वास्थ्यमन्त्रीकै वडाका अर्का एम्बुलेन्स नपाएर हैरानी खेप्ने र जिरिखम्तीबाट मात्रै एम्बुलेन्स पाउने बिरामी हुन् विश्वनाथ प्याकुरेल । प्याकुरेललाई जेठ ५ गते राति बिरामले च्याप्यो । रातारात महँगो ट्याक्सी लिएर प्याकुरेललाई जिरिखिम्ती ल्याइयो । जिरिखिम्तीबाट उनलाई क्रमशः विराटनगर लगियो ।

‘राम्रो बाटो र एम्बुलेन्स पाउने भए धेरै खर्च लाग्दैन थियो’, प्याकुरेलले नेपाल प्रेसलाई भने, ‘सडक सुविधा नभएर समस्या भएको छ ।’

यी त केही उदाहरणमात्रै हुन् । यी पात्रहरु मन्त्रीकै वडाका वासिन्दा हुन् । गाउँपालिकाकै उदाहरण लिँदा समस्या भोगको यस्ता पात्र सयौं छन् । पालिकाका कुना–कुनामा डोजरले जमिन जोतेर सडक लगेको छ । मोराहाङ, श्रीजुङ र पौंठाक जस्ता बजार क्षेत्र आसपास ट्याक्सी र मौसम राम्रो हुँदा बस पनि चल्छन् । एम्बुलेन्स भने चल्दैन ।

सडक कच्ची भएकाले एम्बुलेन्स मेन्छ्यायेम गाउँपालिकामा पुग्न सकेको छैन । मन्त्रीकै वडा एम्बुलेन्स पुग्दैन । मन्त्रीकै वडामा रहेको मेन्छ्यायेम अस्पतालमा एम्बुलेन्स पुग्दैन । मन्त्री भवानीप्रसाद खापुङ वडाका जानकार नभएका भने हैनन् । उनी आफ्नो गाउँ पुगिरहन्छन् ।

देउवा सरकारको पहिलो चरणमा राज्यमन्त्री हुँदै उनी गाउँमा पुगेका थिए । चुनावको समयमा गठबन्धनका उम्मेदवार जिताउन उनी झन्डै दुई हप्ता आफ्नो वडामै चुनावी क्याम्प बनाएर बसे । उनलाई वडाका एकएक दुःख थाहा छ । स्वास्थ्यमन्त्री भएकाले स्वास्थ्य क्षेत्रको झनै थाहा छ ।

यद्यपि सरीमाया थापा, काजीमान खापुङ र विश्वनाथ प्याकुरेल जस्ता उनका वडावासीले दुःख पाएको पाएयै छन् । पालिकाका कुनाकाप्चाका बिरामीले दुःख पाएकापाएयै छन् ।

पालिकाबाट ट्याक्सीले बिरामी बोकेर धरान, विराटनगर लगेको १० देखि १२ हजार लिने बताउँछन् सिम्देमका अनुभवी ऋषि थापा । आफूले दुई वर्ष अगाडि आमाको कम्मरको हड्डीको अपरेसन गर्दा धेरै सास्ती भएको उनी बताउँछन् । जिरिखिम्तीबाट एम्बुलेन्स हुँदै लाँदा भने ६ हजारमा काम हुने थापाको अनुभव छ ।

थापा भन्छन्, ‘बाटो पिचमात्रै हुने हो भने एम्बुलेन्स भेट्ने समय आधाभन्दा छिटो हुन्थ्यो । बिरामी बोक्ने खर्च धेरै जोगिन्थ्यो ।’

नाम अस्पताल, आपतमा छैन भर

स्वास्थ्यमन्त्रीको वडामै छ मेन्छ्यायेम अस्पताल । अस्पतालमा एक आकस्मिक र तीन जनरल वार्ड भएको अस्पतालका प्रमुख छिन् डा. प्रशंसा न्यौपाने । डा. न्यौपानेका अनुसार अस्पतालमा मृगौला, कलेजो, बोसो, आदिको जाँच गर्ने लिक्विड प्रोफाइल, पिसाब, मुटुको चाल आदि जाँच हुन्छ ।

उनी एमबीबीएस डाक्टर हुन् । उनीसहित २ एचए, एक सीएमए, एक जना नर्स, दुई जना अनमी, ल्याबमा दुई जना र अन्य जनशक्ति छन् । एक्सरे सुविधा पनि अस्पतालमै छ ।

यति हुँदाहुँदै गाह्रोसारो पर्दाको सेवा अस्पतालमा छैन । कसैको हात नराम्रोसँग भाँचियो भने एक्सरे, भाँचिएको हात नहल्लाएर अस्पताल लानेसम्मको सेवा छ । तर, सर्जरी गर्नेस्तरको सेवा छैन । यस्तै अन्य गम्भीर प्रकृतिका आपतकालीन उपचार सुविधा अस्पतालमा छैन । सुत्केरीकै जटिल केस हेर्ने अस्पतालसँग जनशक्ति छैन ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख विजय गौतमका अनुसार सुत्केरी रिफर हुँदा पाँच हजारको दरले रकम दिएर अन्य अस्पताल लाने गरिएको छ । गौतमले पालिकामा सरकारी दरबन्दीभन्दा निजी दरबन्दी ज्यादै भएको बताउँछन् ।

अस्पताल भनिए पनि राम्रो सेवा सुविधा मेन्छ्यायेममा छैन । धेरै स्थानीयले यसलाई स्वास्थ्य चौकीको स्तरोन्नति भएको रुपमा मात्रै लिएका छन्, अस्पतालकै रुपमा लिएका छैनन् ।

अस्पताल प्रमुख डा. न्यौपाने पनि अस्पतालमा प्राथमिक सेवामात्रै भएको बताउँछिन् । ‘इमरजेन्सीमा प्राइमरी म्यानेजमेन्टका काम हुन्छन्’, उनले भनिन्, ‘मायोकार्डियल इन्फेक्सन, वार्डमा भर्ना गर्नुपर्ने र कन्सल्टेन्टलाई कन्सल्ट गर्नुपर्ने हामी राख्दैनौं । किनभने हामीसँग पत्ता लगाउने प्रयोगशाला भए पनि अरु सुविधा छैनन् ।’

सेकेन्डरी म्यानेजमेन्टको सेवा र जनरल फिजिसियन नभएकाले धेरै सुविधा हुन नसकेको न्यौपाने बताउँछिन् । उनी भन्छिन्, ‘म एमबीबीएसमात्रै भएर हो । जनरल फिजिसियन भएको भए केही सहज हुन्थ्यो ।’

स्वास्थ्य राज्यमन्त्री हुँदा गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मन्त्री खापुङलाई विभिन्न मागहरु लिखित राखेका थिए । जसमा एक जना फिजिसियन, एक जना स्त्रीरोग विशेषज्ञ, एक जना डेन्टल बीडीएस र दुई जना एमबीबीएस डक्टरको माग गरेका थिए ।

यस्तै ईसीजी मेसिन, डेन्टल एक्सरे मेसिन, यूएसजी फोटो प्रिन्टर एक/एक थान पालिकाले लिखित रुपमा मागेको थियो । कार्डियाक मनिटर तीन सेट र डेन्टल उपकरण दुई सेट लिखित रुपमा मागिएको थियो । तर, अहिलेसम्म यी माग पूरा नभएको बताउँछन् वडा नम्बर ६ का अध्यक्ष प्रदीप बुढाथोकी ।

‘हामीले कुनै पूर्वाग्रह नराखी उहाँ मन्त्री भएर आउँदा भव्य स्वागत गरेर गाउँको माग राखेका थियौं’, बुढाथोकी भन्छन्, ‘उहाँले पालिकासम्म आउने बाटो पिच र एउटा एम्बुलेन्स खरिदमा आशा राखेको काम पनि गर्नुभएको छैन । गर्नुहुन्छ होला ।’

वडा अध्यक्ष बुढाथोकीले संघीय सरकारको अधिकार क्षेत्रको बाटो भएकाले पालिका आफैंले पिच गर्दा गैरकानुनी हुने र नगर्दा जनताले दुःख झनै पाउने दुःखेसो गरे । उनले भने, ‘यसमा संघीय मन्त्रीले नै नेतृत्व लिए राम्रो हो । नत्र पालिकालाई बनाएर जिम्मेवारी दिए हुन्छ । हामी बनाउँछौं ।’

पालिकाकाे वडा नम्बर ५ का स्थानीय टीकाराज प्याकुरेलले गाउँकै मान्छे स्वास्थ्यमन्त्री हुँदा पनि गाउँलेको स्वास्थ्य क्षेत्रमा कुनै देखिने सुधार नभएको गुनासो गर्छन् । उनी भन्छन्, ‘गाउँकै नेता मन्त्री भएको महसुस भएन । उहाँले सबै बल लगाएर बाटो पिच गर्ने र एम्बुलेन्स खरर चल्ने बनाइदिए गाउँलेले धेरै पछिसम्म सम्झने थिए ।’

६,भाद्र.२०७९,सोमबार ०९:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्