अण्डरग्राउण्ड पार्किङ खुलाउन नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्सको संरचना

काठमाडौं । नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।

काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरुलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त म्याद आइतबार सकिएपछि आइतबार बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैं खटिएका थिए ।

धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य शहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डर ग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्राय सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

६,भाद्र.२०७९,सोमबार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्