माओवादी केन्द्रसँग निकटता छ तर तत्काल एकता सम्भव छैन: खनाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भए पनि नेतृत्वले महसुस नगरेकाले तत्काल त्यो सम्भव नभएको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले गुल्मीको तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन् ।

अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरुसँग एकीकरणको सम्भावना नभएको भन्दै उनले माओवादी केन्द्रसँग निकटता भएको खनालले बताए ।

संविधानको रक्षा गर्न पाँचदलीय गठबन्धन आवश्यक भएको उनको दाबी थियो । नेतृत्वको दम्भ र अहंकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संविधानको रक्षा गरेको दाबी गरे ।

जनताले वामपन्थीहरुलाई झण्डै दुईतिहाइको मत दिएको भन्दै नेता खनालले नेतृत्वले सही व्यवस्थापन गर्न नसकेकाले पार्टी विघटन र गठबन्धन आवश्यक रहेको बताए ।

तपाईं राष्ट्रपति हुने चर्चा के हो भन्ने पत्रकारको जिज्ञासामा खनालले अहिले यो वा त्यो पदभन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुने बताए । ‘पहिले निर्वाचनलाई सफल बनाउनु छ, पदका कुरा पछाडि हुने हो’, उनले भने ।

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सीट बाँडफाँटको विषयलाई लिएर फाँटो आउँछ कि भन्ने प्रश्नमा खनालले समस्या नहुने दावी गरे । सीट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै उनले कार्यदलको छलफलपश्चात शीर्ष नेतृत्वबाट मिलान हुने भएकाले सम्मस्या नहुने तर्क दिए ।

‘आफूले धेरै सीट पाए हुन्थ्यो भन्ने चाहना सबैलाई हुन्छ । तर, सबैलाई मागे जति पुग्दैन । त्यसैले सहमतिमै सबै मिल्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको बताए । राष्ट्रियताको सन्दर्भमा सबै दलहरु एकताबद्ध हुनुपर्नेमा त्यो नभएकोमा उनले दुःख व्यक्त गर्दै भने, ‘यस्ता विषयमा अल्पमत र बहुमतको प्रक्रियामा जानु ठीक होइन । तर, भयो बाध्यताले ।’

६,भाद्र.२०७९,सोमबार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्