
काठमाडौं । सामाजिक सुरक्षा कोषले प्रदेशस्तरबाट समेत आफ्नो सेवा दिन सुरु गरेको छ । कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तर्गतका सेवा पनि प्रदेशबाट दिन थालेको हो ।
जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनसँगै सेवा सुरु भएको कोषले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले बुधबार विराटनगर र सिमरा शाखा कार्यालयको उद्घाटन भर्चुअल माध्यमबाट गरेका हुन् ।
कोषले हाललाई विराटनगर शाखा प्रमुखको जिम्मेवारी सौरभकुमार मिश्र र सिमरा शाखाको प्रमुखको जिम्मेवारी ऋषिराम पाण्डेलाई दिएको छ ।
कोषका शाखा कार्यालयबाट कोषको केन्द्रीय कार्यालयबाट दिइने सबैजसो सेवा दिइने कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए । उनका अनुसार विशेषगरी योगदानकर्तालाई दिइने सेवामा केवाईसी अपडेट, कर्जा प्रवाह तथा सापटी, अन्य योजनाको सहजीकरण तथा सेवाग्राहीले प्राप्त गर्ने भुक्तानी दिइनेछ ।
कोषले सात वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने गरी ‘ओएएनए’ सर्वे गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले पहिलो चरणमा दुई वटा प्रदेशमा मात्र शाखा कार्यालय विस्तार गर्ने गरी ओएनएम स्वीकृत गरेको थियो ।
कोषको विवरणअनुसार अहिलेसम्म देशभरबाट १७ हजार ३१६ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । ३ लाख ५५ हजार २७१ जना श्रमिक कोषमा आवद्ध भएका छन् । जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट ११ हजार ९१७ रोजगारदातामार्फत २ लाख ७१ हजार १७९ श्रमिक आवद्ध भएका छन् ।
दोस्रोमा प्रदेश १ मा १ हजार ८६० रोजगारदातामार्फत ३४ हजार ८६० श्रमिक आवद्ध भएका छन् । त्यसैले शाखा कार्यालय स्थापनामा प्रदेश एकलाई पहिलो प्राथमिकता दिइएको बुझिएको छ । तेस्रोमा लुम्बिनी प्रदेशका रोजगारदाता बढी छन् । तर श्रमिक भने मधेश प्रदेशभन्दा कम आवद्ध भएका छन् ।
त्यसैले श्रम मन्त्रालयले मधेस प्रदेशमा शाखा कार्यालय स्थापना गरेको छ । यहाँ रोजगारदाता ७८७ मात्रै आवद्ध भए पनि श्रमिक भने १९ हजार ८०४ जना आवद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्