निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ । सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको हो ।

निहारिकाले शिवराजबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै १७ दिन आमरण अनशन बसेकी थिइन् । आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग थियो । सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दीले उनको माग पूरा गराउने आश्वासन दिएका थिए ।

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो । आज न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुईसदस्यीय इजलासल आदेश दिएपछि सरकारलाई निहारिकाको माग पूरा गर्न बाटो खुलेको छ ।

आदेशपछि प्रतिक्रिया दिँदै निहारिकाले उच्च अदालतको आदेश तत्काल कार्यान्वयन हुने आशा व्यक्त गरिन् ।

निहारिकाको बच्चा र आरोपीको डीएनए टेस्टका लागि ८ गते उच्च अदालतले आदेश दिने तय भएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो ।

८,भाद्र.२०७९,बुधबार १८:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्