पूर्वसुरक्षा अधिकारीहरूसँग राष्ट्रपतिले भनिन्, ‘मैले राजीनामा दिने कुरा बजारमा हल्ला मात्र हो’

काठमाडौ । काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा बोलाएकी थिइन्।

त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।

राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो।

राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।

राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारित नागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।

राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुन: संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।

पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाई लागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।

यसैक्रममा राष्ट्रपतिले राजीनामा दिन लागेका प्रसंग पनि उठ्यो। यसबारे राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताइन्।

‘नागरिकता विधेयक, अग्निपथ (भारतीय सेनाले सैनिक भर्तीबारे ल्याएको एक योजना) लगायत विषयमा कुराकानी भइरहेका बेला राष्ट्रपतिले राजीनामा दिने प्रसंगका कुरा पनि निस्केको थियो,’ शितल निवासमा पुगेका एक उपरथीले सेतोपाटीसँग भने, ‘मैले राजीनामा दिने कुरा बजार हल्ला मात्रै हो, यसमा मैले केही सोच बनाएको पनि छैन भनेर उहाँ (राष्ट्रपति) ले भन्नुभयो।’

केही पूर्वसैनिक अधिकारीहरूले भने राष्ट्रपतिले लिने कदममा आफूहरूले समर्थन गर्ने बताएका थिए।

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुन: पारत भइसकेको र राष्ट्रिय सभाबाट पनि पारित गर्दै सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी छ।

सभामुखले पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरी राजनीतिक कदमका रूपमा राजीनामा दिन सक्ने चर्चा केही दिनदेखि भइरहेका छन्।

ती उपरथीका अनुसार राष्ट्रपति भण्डारीले भने राजीनामा दिनेबारे केही नसोचेको र कतै पनि केही कुरा नगरेको बताएकी थिइन्।

गत मंगलबार सत्ता गठबन्धन बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रपतिले राजीनामा हल्ला छ नि!’ भनेर आफूनिकट केही मन्त्री र नेतासँग जिज्ञासा राखे। ती मन्त्री र नेताहरूले भने ‘हामीलाई त त्यस्तो लाग्दैन’ भनेका थिए।

प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यको दाबीअनुसार राष्ट्रपतिले राजीनामा दिने भन्ने सूचना बालुवाटार आएको छैन।

९,भाद्र.२०७९,बिहीबार ०८:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्