बाबुरामको पार्टी नेसपाद्वारा कमिटी विस्तार, ७ प्रदेशमा निर्वाचन केन्द्रित कार्यक्रम गर्ने घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनीतसहितका ८ निर्णय गरेको छ ।

बैठकले चौधरीलाई सहअध्यक्ष र ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गर्दै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई तोकेको छ ।

यस्तै केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ ।

नेसपाले समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी/दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो‍ इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ ।

यस्तै बैठकले मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय समिति बनाएको छ ।

अर्का अध्यक्ष महिन्द्र राय यादव संयोजक र सहअध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहने गरी सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

यस्तै निर्वाचनलाई लक्षित गरेर ७ वटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरिएको छ । जसमा भदौ २० गते १ नम्बर प्रदेशको इटहरी र सुदूरपश्चिम प्रदेशको धनगढीमा, भदौ २२ गते मधेस प्रदेशको जनकपुर र कर्णाली प्रदेशको सुर्खेतमा, भदौ २४ गते लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको पोखरामा र भदौ २५ गते बागमती प्रदेशको काठमाडौंमा कार्यक्रम गरिने जनाएको छ ।

९,भाद्र.२०७९,बिहीबार १४:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्