हैसियतका आधारमा सिट बाँडफाँट हुनुपर्छ : लुम्बिनी कांग्रेस सभापति पुन

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले स्थानीय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गरे । उनले दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गरे जीत हासिल गर्न सकिने जिकिर गरे । रोल्पा र रुकुमलाई संकेत गर्दै उनले क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको बताए ।

त्यस्तै नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको बताउँदै पाँच दलीय गठबन्धनले संविधानलाई कमजोर वनाएर देशलाई डुबाउने काम गरेको जानकारी दिए । उनले नागरिता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढवा दिएर देशका लागि अहित पूर्ण काम गरेको आरोप भयो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश संसदिय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट परेको बताए । उनले अघिल्लो स्थानिय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको भन्दै सजक रहनुपर्ने धारणा राखे ।

साक्षात्कारमा नेकपा एसका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औंल्याए ।

९,भाद्र.२०७९,बिहीबार १५:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्