सबैको चित्त बुझाएर पनि विकास गर्न सकिन्छ, भक्तपुरको मोडल हेर्न आउनुस् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेत अत्यधिक ताली र गाली पाउने नेतामा पर्छन् । आफ्नो निर्वाचन क्षेत्रमा भने उनी पहिल्यैदेखि पपुलर छन् । जनप्रतिनिधिका रूपमा गरेको विकासका कारण भक्तपुर २ का मतदाता रिझाउन सफल छन् उनी ।

अहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग फेसबुक चलेको जुहारीका कारण चर्चामा आएका छन् बस्नेत । बालेन्द्रका समर्थकहरू उनीविरुद्ध खनिएका छन् । बस्नेतको कमेन्ट बक्स गालीले भरिएको छ । तर, उनी यस्ता नेता हुन्, जो ताली वा गालीसँग त्यति सरोकार राख्दैनन् । आफ्नो अडानबाट हतपती पछि हट्दैनन् पनि ।

सामाजिक सञ्जालमा खेपिरहेको तीव्र आलोचनाका बीच बस्नेत आज एक सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । ग्लासियर कलेजले आफ्ना विद्यार्थीहरूलाई सूर्यविनायकमा लगेर बस्नेतसँग अन्तरक्रिया गराएको थियो । त्यसक्रममा बस्नेतले विद्यार्थीहरूलाई भक्तपुरको विकास मोडलबारे प्रकाश पारेका थिए । आफूहरूले कुनै ध्वंसविना सबैको चित्त बुझाएर विकास गरेको उनले दाबी गरे ।

विद्यार्थीहरूसँगको अन्तरक्रियामा बस्नेतको भनाइको सार यस्तो थियो-
हामीले जडिबुटीको पुलदेखि साँगासम्म पचासौं सडक बनायौं । कसैको घर भत्काउन डोजर लगाएनौं । सबैलाई अनुरोध गर्‍यौं । विकास यसका लागि चाहिन्छ भनेर बुझायौं । सडकले अहिले तपाईंको जग्गा निश्चित प्रतिशत ओगट्ला, तर पछि जग्गाको भ्यालु बढ्छ भनेर सम्झाएपछि जनताले आफैं खाली गरिदिए ।

चार-पाँच वर्षमा हामीले भक्तपुरमा नाटकीय विकास गरेका छौं । पाँच वर्षअगाडिको र पाँच वर्षपछिको भक्तपुर अनुसन्धान गर्नुभयो भने तपाईंहरूले महसुस गर्न सक्नुहुन्छ । हामीले भत्काएर बनाएको होइन, नयाँ भक्तपुर बनाएको हो । कुनै व्यक्तिलाई क्षति पुर्‍याएको छैनौं । अहिलेको लोकतन्त्रमा व्यक्तिको गोपनीयताको हक संवैधानिक हक हो । सम्पत्तिको हक, उद्योग-व्यवसाय गर्न पाउने र रोजगारी दिन पाउने मौलिक हक हो । कसैलाई सन्की चढ्यो भनेर च्यालेन्ज गर्न पाइँदैन । मलाई रिस उठ्यो भनेर तपाईंको स्कुलमा आएर डोजर लगाउन पाउँदिन । यसको विधि, प्रोसेस हुन्छ । कानून, पद्दति हुन्छ । समय हुन्छ । विकल्प हुन्छ ।

शान्त ढंगले सबैको समर्थन र साथ लिएर काम गर्न सकिन्छ । अहिले दुई-चार फेसबुके, ट्वीटर र युट्यूवेहरूको समर्थन नपाइएला । आमाको होटल र बाउको लजमा बसेर गाली पनि गर्लान् । तर, त्यसको कुनै अर्थ छैन ।

यो सन्दर्भ मैले किन भनेको भन्दा पाँच वर्षअघि यहाँ कोही आयो भने ‘ओहो कति टाढाबाट आएको ?’ भन्थे । हामी काठमाडौं कलेज पढ्न जाँदा भक्तपुरदेखि आएको भनेर जिल्ल पर्थे । भक्तपुर कर्णालीजस्तो थियो । यहाँ प्राइभेट कलेजहरू थिएनन् । हामी मिनभवन क्याम्पस पढ्न जान्थ्यौं पढ्न । अहिले वानेश्वर कलेजका साथीहरू डोलेश्वर आउनुभएको छ । यो हाम्रो लागि गौरव हो ।

आज फेसबुकमा जथाभावी अभिव्यक्ति दिएर निराशा, कुण्ठा र पलायनवादी सोच प्रस्तुत नगरौं । सुत्ने बेलामा दिनभरि रचनात्मक काम के गरेँ ? परिवार र समाजका लागि के गरेँ भनेर फेसबुकमा लेखौं बरु । यहाँ धेरै नौंटकीवाजहरू छन् । सस्तो लोकप्रियताका लागि अनेक नौटंकी गरिरहेका छन् ।

हामी राष्ट्रिय पूँजिको विकास र वित्तीय क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भनिरहेका छौं । तर, अहिले न मार्क्स, न लेनिन, न समाजवाद, न राष्ट्रवाद । अहिले छ केवल मपाईंवाद । सन् २००० पछिको बालेनपुस्ताको सिद्धान्त मपाईंवाद भएको छ । म नै सबथोक हुँ, मबाहेक अरु केही पनि होइन, जे सोच्छु म त्यही गर्छु भन्ने खालको । हिजो आध्यात्मवादको जमानामा, धार्मिक युगमा पनि सम्भव नभएको कुरा हो यो । ब्रम्हा एक्लैले सृष्टि गरेर केही गर्न सकेनन् । ब्रम्हा, विष्णु, महेश्वर तीन मिलेर ओम भयो । तीनैजनाले मिलेर सृष्टि हाँकेका छन् ।

आज कुनै माइकालालले आफूलाई शिवजीको अवतार ठानेर सबैलाई ठोक्छु, सबै एक्लै बोक्छु भन्ने सपना नदेख्दा हुन्छ । मलाई चाहिँ कसमसेकम यसमा विश्वास लाग्दैन । विकासको अनेक मोडालिटी हुन्छन् । मन लागे भक्तपुरको मोडालिटी सिक्नुहोला । राम्रै मोडालिटी छ हाम्रो । जनतालाई चित्त बुझाएर, वैकल्पिक व्यवस्थापन गरेर विकास गरिएको छ । रोजगारी सिर्जना गर्ने उद्योगीलाई प्रोत्साहन दिएका छौं । नयाँ पुस्तालाई रचनात्मक बाटो हिँड्न प्रेरणा दिएका छौं ।

कुनै पनि सत्यलाई तथ्यका आधारमा मूल्यांकन गर्नुस् । भ्रमको आधारमा धारणा र दृष्टिकोण बनाउन थाल्यौं भने फोहोर चिजलाई सफा चिज ठानेर समाएका हुन्छौं । जब त्यो गन्हाउन थाल्छ, अनि आफैंलाई घृणा लाग्छ । घृणा र पलायनले हामीलाई ध्वंसको बाटोमा लैजान्छ । जब निराश हुन्छौं, निर्माण होइन पलायनताको बाटोमा जान्छौं । विदेश यात्रा रोज्छौं । विकृति-विसंगतितर्फ धकेलिन्छौं । लागुऔषधतिर लाग्छौं ।

कुनै मानेमा हामी कमजोर ठाउँमा जन्मेका छैनौं । कुनै मानेमा उजाड ठाउँमा जन्मेका छैनौं । सुर्यबिनायक जंगलमा जानुभयो भने मृग देख्नुहुन्छ, बँदेल, बाँदर देख्नुहुन्छ । कुनै पनि दुब्लो र खान नपाएका छैनन् । यहाँका बाँदर, बँदेलहरू पनि मोटाघाटा र रहरलाग्दा डरलाग्दा छन् । हामी त मानव हौं । हामी कहीँ कतै निराश हुनुपर्ने छैन ।

सामूहिक भावनामा हिँडेको खण्डमा जे पनि सम्भव छ । मपाईंत्वले सम्भव छैन । मपाईंत्व मुर्दाबाद । सस्तो लोकप्रियता मुर्दाबाद । सबै मिलेर नेपाल बनाऔं । मुलुक बन्छ । निराश हुनुपर्दैन । दुई-चारजना फेसबुके, ट्याबेहरूले गाली गरेर केही हुनेवाला छैन । ट्याब खाएर हिँडेकाहरूलाई सुधार गृहमा लैजाने हो । यो अभियानको नेतृत्व महेश बस्नेतले गर्छ ।

१०,भाद्र.२०७९,शुक्रबार १२:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्