टेकु अस्पतालको इमरजेन्सीमा बेड पाउनै मुस्किल, डेंगुका बिरामी ह्वात्तै बढे

काठमाडौँ — उपत्यकामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेका हुन् । अस्पतालमा शुक्रबार करिब २ बजे पुग्दा १५ बेडको इमरजेन्सी सबै भरिभराउ देखिन्थ्यो । कुनै बेडमा त दुई जनासम्म पल्टिरहेका थिए ।

इमरजेन्सीको बेडमै भेटिए कुलेश्वरका ४० वर्षीय प्रह्लाद भट्टराई । बिहीबार १०४ डिग्री ज्वरो आएको र अत्यधिक शरीर दुखेपछि उनी अस्पताल भर्ना भए । उनले डेंगु परीक्षणका लागि नमुना दिएका छन् । चिकित्सकका अनुसार उनको लक्षण सबै डेंगुसित मिल्छ । ‘जिउ दुख्न कम भए पनि रिंगटा चलिरहेको छ । बस्न पनि सकेको छैन । एकदम कमजोरी महसुस भएको छ,’ उनले सुनाए ।

जडिबुटी बस्ने २८ वर्षीय दीपक कार्की र २५ वर्षीय बलबहादुर खड्का भर्ना हुनका लागि इमरजेन्सीबाहिर १ घण्टा कुर्दा पनि भर्ना पाएनन् । दुवैलाई डेंगु पुष्टि भएको छ । दुवैमा ज्वरो पनि आएको छ । तर इमरजेन्सी र भित्रको वार्डको बेड पनि सबै भरिएपछि उनीहरूले बेड पाउन सकिरहेका थिएनन् ।

चिकित्सकले बेड खाली नभएपछि घरमै आराम गर्न र चिकित्सकको निगरानीमा बस्नु भनेर घर पठाए । भक्तपुर अस्पतालमा परीक्षण गराएका उनीहरूको परीक्षणमा दुवैको प्लेटलेट्स ८० हजार देखाएपछि अस्पतालले टेकु रेफर गर्‍यो । सामान्यतया प्रतिमाइक्रोलिटर रगतमा १,५०,००० देखि ४,५०,००० सम्म प्लेट्लेट्स हुन्छन् । १,५०,००० भन्दा कम प्लेट्लेट्स हुनुलाई सामान्य मानिँदैन । रगतमा प्लेट्लेट्सको मात्रा कम हुँदा रगत बग्न समस्या देखिन सक्छ ।

टेकु अस्पतालमा रहेको १५ वटा इमरजेन्सी बेड मात्र होइन, ४० बेडको वार्डमा पनि अधिकांश बिरामी डेंगुकै रहेका छन् । केही बिरामी भने केही सर्पदंश र कालाजारका रहेका छन् । इमरजेन्सी वार्डमा खटिएका मेडिकल अधिकृत डा. प्रकाश ज्ञवालीका अनुसार दुई हप्ता डेंगुको बिरामी आउन थाले पनि १ हप्तायता संख्या ह्वात्तै बढेको जनाए । उनले धेरैजसो बिरामी ज्वरो र जिउ दुखाइको लक्षण लिएर आएको बताए ।

डा. ज्ञवाली भन्छन्, ‘९० प्रतिशत डेंगुकै बिरामी उपचार गराइरहेका छन् । यहाँ अरु पनि संक्रामक रोगको बिरामी आउँछन् । घरमै आराम गर्न सक्नेलाई पठायौँ नभए अरु म्यानेज गरेका छौँ । अहिले बेड नै खाली छैन । बिरामी नै फर्काउनु पर्ने अवस्था आइसकेको थिएन। सानो ठाउँ भयो बिरामी बढे ।’

हाल अस्पतालमा ७० देखि ८० जना दैनिक डेंगुजस्तै लक्षण लिएर आउने बिरामी बढेका छन् । अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले परिवार नै संक्रमित भएको केस आइरहेको बताउँदै डेंगु फैलिरहेको बताए । उनले भने, ‘धेरै मानिस ज्वरो आएको ३ देखि ५ दिनमा आइरहेका छन् । अति नै दुखाइ भएपछि मात्र अस्पताल आएका छन् ।’

स्वास्थ्य अवस्था स्थिर रहेसम्म प्लेट्लेट्स घट्दैमा आत्तिनु नपर्ने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘डेढ लाखभन्दा तल प्लेट्लेट्स घटेको राम्रो मानिँदैन तर नियमित निगरानीमा हुनुपर्छ ।’ उनले डेंगुलाई पीडादायी रोगको संज्ञा दिँदै सहरिया क्षेत्रमा लामखुट्टे अत्यधिक बढेकाले निगरानीमा बस्न आग्रह गरे । ‘अहिले बिरामीले पातलो दिसा हुने लक्षण पनि लिएर आएका छन् । अहिले देखिएको डेंगु कुन सेरोटाइप(प्रकार)को भनेर परीक्षण गरे त्यसले निमत्याउने जटिलता र कति बेड आवश्यक पर्ला भनेर योजना बनाउन सजिलो हुन्थ्यो,’ उनले भने ।

डेंगु हाल ६९ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको २६ अगस्ट २०२२ सम्मको तथ्यांक अनुसार जनवरीदेखि अगस्टसम्म प्रदेश १ मा १७४, मधेश प्रदेशमा ५२, वाग्मती प्रदेशमा १ हजार ३३०, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ६३३, कर्णाली प्रदेशमा ३५५ र सुदूरपश्चिम प्रदेशमा ७९ वटा गरी २ हजार ३७० जना केस भेटिएका छन् ।

सबैभन्दा धेरै ललितपुरमा ७५१, रुपन्देहीमा ३६१, काठमाडौँमा ३०१ वटा केस देखिएका छन् भने ७० भन्दा बढी केस देखिनेमा धादिङ, तेह्रथुम, संखुवासभा, भक्तपुर, सिन्धुली, अर्घाखाँची र गुल्मी रहेका छन् । सबैभन्दा बढी केस जुलाई र अगस्टमा पुष्टि भएका देखिन्छन् ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले साउनयता डेंगुको लक्षण लिएर परीक्षण गराउन आउने बढेको बताए । उनका अनुसार परीक्षण गराउन आउनेमा दैनिक करिब ५० जनामा डेंगु पुष्टि भएका छन् । उनी भन्छन्, ‘डेंगु बढिरहेको देखिन्छ । अस्पतालको हिजोसम्मको तथ्यांकअनुसार साउन १ यता ४८० जनामा डेंगु परीक्षण पुष्टि भएको छ । हाल १४ जना बिरामी उपचार गराइरहेका छन् ।’

ललितपुर महानगरपालिकामा जनस्वास्थ्य शाखाको प्रमुख सरिता महर्जनले डेंगुको संक्रमण बढेसँगै प्रत्येक वडा–वडामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको बताइन् । महानगरपालिकाले १ देखि २९ वटा क्षेत्रमा बिहान साढे ८ बजेदेखि साढे १० सम्म र साँझ साढे ५ देखि साढे ६ सम्म दैनिक ३ घण्टा लार्भा नष्ट गर्ने काम गरिरहेको छ । ‘हामीले ९,१०,१२ र १३ गतेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सबैको समन्वयले नियन्त्रणमा आउँछ होला,’ उनले भनिन् ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१२/१३, २०१७ र २०१९ मा डेंगुले प्रकोपकै रूप लियो ।

टेकु अस्पतालका पूर्वनिर्देशक डा. अनुप बास्तोलाले सतर्क रहन आग्रह गर्दै सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्ने बताए । उनका अनुसार घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ । ‘साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नुपर्छ,’ उनले भने ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गनुुपर्ने चिकिसकहरूको सुझाव छ ।

११,भाद्र.२०७९,शनिबार १३:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्